प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा
दिप्शन गुरुङ
२०८१ कार्तिक ३० | मध्यान्ह ०७:०७ बजे

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।
अर्को प्रसङ्गमा नेपाली कांग्रेसकी नेतृसमेत रहेकी डा राणाले ठुला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबिच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन् । उनले भनिन्, “देशमा स्थायी सरकार बनाएर लग्ने भन्ने नेताहरूको योजनालाई साकार पार्न पनि यस्तो संयन्त्र बनाइएको हो ।”
परराष्ट्रमन्त्री डा राणा आफ्नो गृहजिल्ला डडेलधुराको उग्रतारालगायत मन्दिरमा लाग्ने मेलामा सहभागी हुन धनगढी हुँदै आज डडेलधुरातर्फ गएकी छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन् ।


















