कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

अजरबैजान । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडफाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ ।
त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए । उनले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गरे ।
सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गरे । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्दै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराए ।
कोप–२९ मा ७३ हजारको सहभागिता
आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ । सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो । त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन् ।
कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बिच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गरेका थिए । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गरेको युएनफसिसिसीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए । त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।























