दार्चुला जीप दुर्घटनामा ८ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भीर


धनगढी । दार्चुलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमा २ जना भारतीय सहित ६ जना नेपाली रहेका छन् । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
राजमार्ग सुरक्षा तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरिक्षक राजिव बस्नेतका अनुसार शैल्यशिखर- ५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलिप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका- ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको उनले बताए ।
एसपी बस्नेतका अनुसार ‘यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ । एसपी बस्नेतका अनुसार वीरेन्द्र रावल र मिना लेखकको अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान करिब ४ बजेतिर शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो । घाइते ५ जनाको उद्दार गरेर गोकुलेश्वर अस्पताल पुर्याइएको र उपचार भइरहेको छ । जीप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जीप दुर्घटनामा परेको हो । जीपमा तिर्थालुहरू सवार थिए ।























