शंकास्पद रुपमा नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक झापाबाट पक्राउ


झापा । भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रवेश गर्न लागेका दुईजना बंगलादेशी पक्राउ परेका छन्। बुधबार दिउँसो २ बजे झापाको मेचीनगर नगरपालिका वडा नं.७ स्थित गैरीगाउँ सीमा इलाकाको सानो सीमा स्तम्भ नं.९०/३ नजिक बंगलादेशीहरु २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन पक्राउ परेका हुन्।
उनीहरुको साथबाट भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १ थान, बंगलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ।
बीओपी सतिघट्टाबाट खटिएको पिकेट ड्युटीले भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रबेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बंगलादेश बताउने उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए।
उनले सामानसहित आवश्यक कार्वाहीको लागि दुवै जनालाई अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको जानकारी दिए।























