उप निर्वाचनको लागि मतदाता नामावली प्रकाशन


बाजुरा, कार्तिक २६। मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनको लागि आज (सोमबार) मतदाता नामावली प्रकाशन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार मतदाता नामावलीको दावी विरोध,नाम सच्याउने लगायतका कार्यपछि अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त निर्वाचन अधिकारी अंगतबहादुर महतले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदको उप निर्वाचनका लागि सोमबार निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको बताए ।
उपनिर्वाचन २०८१ मा हुने स्वामिकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि मंसिर १६ गतेसम्म १८ वर्ष पुरा भएका वडागत मतदाता नामावली आजै प्रकाशन भएको बताएका छन् ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि वडा नंम्बर १ मा एक हजार ७२४,वडा नम्बर २ मा एक हजार ३३८ र वडा नम्बर ३ मा दुई हजार ७३ जना मतदाता रहेको निमित्त निर्वाचन अधिकारी महतको भनाई रहेको छ। यस्तै वडा नम्बर ४ मा एक हजार ४१५ जना, र वडा नम्बर ५ मा ९०८ जना गरी सात हजार ४५८ जना मतदाता रहेको महत बताउँछन् । उप निर्वाचनका लागि आवश्यक तयारी तिव्र पारिएको छ । जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत कर्मचारीको नामावली संकलन कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
उप निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रत्येक कार्यालयमा कर्मचारी विवरण माग गरिएको निमित्त निर्वाचन अधिकारी महतले बताए । उप निर्वाचनका कार्यलाई चुस्तदुरुस्त बनाउने गरी कार्यालयले तयारीलाई थालेको बताइएको छ । उक्त गाउँपालिकामा हुने उप निर्वाचनका लागि मंसिर ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । गाउँपालिकाको केन्द्र रहेको सुईजिउलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने महतको भनाई छ ।























