ट्राफिक अपडेट, देश, मानवअधिकार, मुख्य समाचार, यातायात, विचार/ब्लग, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
दार्चुलामा क्षमता नाघेर यात्रु बोक्ने सवारीलाई कारवाही

दार्चुला: क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई दार्चुला जिल्लामा कारवाही गरिएको छ। खलंगाबाट छुटेको सु.प.प्र.०४००१ज००५ नम्बरको बोलेरो जिपले सिट क्षमताभन्दा बढी यात्रु राखेको सूचना सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि, जिल्ला ट्राफिक कार्यालयले उक्त जिपका चालकलाई नियन्त्रणमा लिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार, चालकलाई अबदेखि यस्ता गल्ती नगर्ने सर्तमा सचेत गराउँदै आवश्यक कारवाही गरेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने जिपलाई एक हजार पाँच सय रुपैयाँ जरिवाना पनि तिराइएको छ।
प्रहरीले सामाजिक सञ्जाललगायतका विभिन्न श्रोतबाट प्राप्त हुने कसूरसम्बन्धी सूचनालाई गम्भीरताका साथ लिने गरेको जनाएको छ। सूचना दिने व्यक्तिको गोपनीयता सुरक्षित राख्दै कारवाही गरिने हुँदा, प्रहरीले यस्ता सूचनाहरू प्रहरी कार्यालयमा उपलब्ध गराई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
दार्चुलाका अधिकांश कच्ची सडकमा सवारीसाधन चलाउनु जोखिमपूर्ण मानिन्छ। क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको सम्भावना उच्च हुने भएकाले, सबै सरोकारवालाहरूलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ।























