महोत्सवमा नेपालमै पहिलोपटक अन्डरवाटर फिस टनेल राखिने


गैंडाकोट, कार्तिक २२ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनाम नवलपरासी (बर्दघाट-सुस्तापुर्व)को गैंडाकोटमा संचालन हुने लागेको महोत्सवमा नेपालमा पहिलोपटक अन्डरवाटर फिस टनेल राखिने भएको छ ।
गैंडाकोट-२ स्थित नारायणी नदीकिनारमा कार्तिल २६ देखि संचालन हुने दोश्रो गण्डकी प्रदेश महोत्सव- २०८१ मा नेपालमै पहिलोपटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने ब्यवस्था गर्न लागिएको हो । महोत्सव स्थलमा ६० फिट चैडाई तथा दुई सय फिट लम्बाई भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने ब्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिनुभयो । टनेलभित्र पानीमा राखिने माछा ७ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरु चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताउनुभयो ।

टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।दोश्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला हस्तकला मेला, कृषि मेला, पुष्प मेला, अटो मेला, सुचना तथा प्रविधिकहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामान लगायतका तीन सय बढी स्टलहरु रहने महोत्सवका मुल संयोजक एवम नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । अहिले महोत्सव स्टलमा धमाधम निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माणलगायतका कामहरु भईरहेको भट्टचनले बताउनुभयो ।

सिङगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि यो महोत्सव आफैमा महत्त्वपूर्ण भएको वहाँले दावी गर्नुभयो । कार्तिक २६ गरे शुरु भएर मंसिर १० गतेसम्म संचालन हुने महोत्सवमा रु. एक करोड ७० लाखको कारोबार हुने तथा ३० लाख बचत हुने अनुमान गरिएको मुल संयोजक भट्टचनको भनाई छ ।























