मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु


जलेश्वर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।
दिदीबहिनीहरूले ११औँ दिनमा बिहानै सामा चकेवाहरुलाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउँछन् । त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरूले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्वको समापन हुने जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए ।
सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रूपमा समृद्धि हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ । सोही अनुरुप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व लोकप्रिय छ ।
मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अर्घ दिनुभन्दा एकदिन पूर्व (आज) देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गरेको जलेश्वर–६ की ३० वर्षीया विनिता देवीले बताइन् ।























