डीआईजीका लागि प्रतिस्पर्धा प्रहरी अधिकृत


काठमाडौँ । नेपाल प्रहरीमा रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्को साता बढुवा गरिने भएको छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त अधिराज्य बेलायततर्फ प्रस्थान गरेका छन्। आईजीपी कुँवर शनिबार फर्किएपछि बढुवा समितिको बैठक बस्ने र ८ डीआईजीमा सिफारिस गर्ने तयारी छ।
गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा गरिएको छैन। हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ। असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए। उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश भए। साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो।
तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो। भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए। त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेको थियो।
चारजना डीआईजी रिक्त हुँदा पनि सरकारले बढुवा गरेन। कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो।
किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो।
रिक्त संख्या ८ पुगेसँगै बढुवाको तयारी भएको छ।
यी हुन् प्रमुख दाबेदार
रिक्त डीआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन्। प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिइङमा लागेका छन्। यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ।
आईजीपी कुँवरका ब्याची ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन्। उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए।
त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन्। उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए। यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर छन्।
यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्ने छन्। यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने करिब निश्चित छ। यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए। उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन्। उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डीआईजी भइसकेका छन्।
शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि लबिइङ गरिरहेका छन्। तर उनीहरू डीआईजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ। यो टोलीका दानबहादुर कार्कीसहित तीनजना पहिल्यै डीआईजी भइसकेकाले उनीहरूमध्येबाट पनि केही बढुवा हुने सम्भावना छ।
यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन्।
एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डीआईजी भइसकेका छन्। ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन्। एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएका हुन्।
यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन्। तर उनीहरू डीआईजी बढुवाका लागि जोडबल गरिरहेका छैनन्।























