प्रदेश, प्रबास, मनोरन्जन, मानवअधिकार, मुख्य समाचार, वातावरण, विचार/ब्लग, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश
बझाङो केदारस्युँ-९ का युवायुवतीहरूले झोता बजारलाई बनाए आकर्षक, सामाजिक कार्यको प्रशंसा

बझाङ -बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झोता घर भई हाल अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेका युवायुवतीहरूले देउसी भैलो खेलेर संकलित रकमबाट झोताबजारमा रहेका रुखहरू पेन्ट गरी सजाएका छन्। तिहार मनाउन घर आएका यी युवायुवतीहरूले फजुल खर्च कटाएर सामाजिक कार्यमा लाग्दै झोता बजारलाई थप आकर्षक बनाउन सफल भएका छन्।
आज झोता बजार व्यवस्थापन समितिले युवाहरूको यस सराहनीय कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वडाध्यक्ष नन्दलाल बोहराले युवाहरूको सक्रियताले झोता बजारको सुन्दरतामा थप निखार आएको बताउँदै उनीहरूलाई धन्यवाद दिए।
बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद बहादुर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रविन सिंह धामीले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएका थिए भने राजेन्द्र कुमार गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।
यस कार्यक्रमले स्थानीय युवाहरूमा सामाजिक उत्तरदायित्व बोध गराउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। युवाहरूको यस उदाहरणीय कार्यले अन्यलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने विश्वास गरिएको छ।























