अपराध, समाचार

भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती

नवलपुर टुडे
२०८१ कार्तिक १९ | बिहान ०७:०७ बजे

ढाका, कात्तिक १९ गते । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।

बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भन्नुभयो, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं ।”

भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।

त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, “हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ ।” अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिनुभएको छैन ।

करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ । करिमले भन्नुभयो, “एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन । तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौं र उनीहरूलाई सूचित गरेका छौँ ।”

करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।

सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नाभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरू हुन्छ ।”

शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो ।

बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ ।

कमेन्टहरु