शिक्षा

शिक्षामा गुणस्तरियता कायम गर्न अध्यक्ष चौधरी एक्सनमा : लापरबाही गर्नेलाई कारबाहीको चेतावनी

धर्मेन्द्र कुमार कुर्मी
२०८१ कार्तिक १५ | बिहान ०७:०७ बजे

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी शिक्षामा गुणस्तरियता कायम गर्न एक्सनमा उत्रिएका छन् । पालिकाभित्रका विभिन्न विद्यालयमा निरन्तर अनुगमनलाई तीब्र पार्दै अध्यक्ष चौधरी एक्सनमा उत्रिएका हुन् ।पालिका अध्यक्षमा निर्वाचित हुँदा उनले शिक्षालाई प्राथमिकतामा राखेका थिए । सोही अनुरुप पालिकाभित्र शिक्षा क्षेत्रमा सुधार गर्दै गुणस्तरिय शिक्षा कायम गर्न अध्यक्ष चौधरी खटिएका छन् । उनले हरेक विद्यालयका समस्याहरु पहिचान गरी समाधान गर्न आवश्यक पहल समेत तत्काल गर्ने गरेका छन् ।

शिक्षा क्षेत्रको सुधारका लागी बिद्यालयका बिद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालासगं उनले नियमित रुपमा छलफल तथा बिद्यालयमै समय सापेक्ष पुगी गुनासो सुन्ने र समाधानका पहल गर्ने गरेका छन ।गत बुधार मात्र उनी विद्यालय अनुमगनका क्रममा छड्के जाँचका लागि वडा नं.४ मा रहेकोे श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा बिहान १० बजे पुगे । सो क्रममा शिक्षक शैलेन्द्र शुक्ल वडामा काजमा छु भन्दै विदा लिएको पाईएको थियो । त्यस लगत्तै पालिका अध्यक्ष चौधरीले शिक्षामा लापरवाही गर्ने जो कोही शिक्षकलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन ।यसैबिच सोही बिद्यालयका अर्का कर्मचारीका रुपमा कार्यरत कार्यालय सहायक शिक्षक सुशिल पाण्डेय पनि वडा काज बिदा भन्दै बिदामा रहेको पाइएको छ । यसरी एकैदिन एउटै बिद्यालयका २ कर्मचारी वडा काज भन्दै बिदामा बसेपछि बिद्यालयले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छकार्य भन्दै सरोकारवाला समेत आक्रोशित भएका छन ।

गाउपालिका अध्यक्ष चौधरीले विद्यालय अनुगमनलाई निरन्तरता दिने बताउँदै शिक्षा क्षेत्रको सुधारका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने बताए । पालिका शैक्षिक गुणस्तर सुधारमा गम्भिरका साथ अघि बढेको बताउँदै उनले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए । ‘विगतमा प्राप्त नतिजाले शिक्षाको गुणस्तर खस्किएको देखाएको छ । त्यसैको सुधारका लागी पालिका गम्भिरका साथ अघि बढेको छ,’ उनले भने ।

उनले शिक्षामा अपेक्षित परिणाम हात पार्न लगानी गर्न आवश्यक भएकाले त्यसका लागी वडाले क्रमिक रुपमा लगानी बढाउँदै लगेको बताए । साथै गरिएको लगानीको कार्यान्वयनको पाटोलाई आफुले नजिकबाट अनुगमन गर्ने गरेको उनले बताए ।

शिक्षा नै विकास र समृद्धिको मुख्य मेरुदण्ड भएकाले शिक्षा क्षेत्रको गुणस्तरियतालाई पालिकाले प्राथमिकता दिएको उनको भनाई छ ।

कमेन्टहरु