समाचार, समाज

नवलपुरको गैँडाकोट नगरपालिकाभित्र उत्पादन सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

नवलपुर टुडे
२०८१ कार्तिक १३ | मध्यान्ह ०५:०७ बजे

नवलपुर, कात्तिक १३ । नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । अघिल्लो वर्षको तुलनामा फूलखेती लगाउने क्षेत्रफल घटेको भए पनि उत्पादन राम्रो भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलबाट उत्पादन राम्रो भएको हो । यसवर्ष स्थानीय फूलको माला प्रवद्र्धन गर्न नगरपालिकाले प्लाष्टिकका माला आयात बन्द गरेपछि उत्पादन भएको फूल खपत हुनेमा कृषकहरु विश्वस्त छन् । विगतको वर्षको तुलनामा यस वर्ष फूलको उत्पादन राम्रो भएको गैडाकोट १ का कृषक मीना केसीले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा सयपत्री फूलको उत्पादन राम्रो हुने देखेपछि कृषकहरुलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको हो । सयपत्री फूलको उन्नत जातको बीउ लगाउँदा यसवर्ष राम्रो उत्पादन भएको हो । यस वर्ष गैँडाकोटमा मात्रै ४१ जना किसानले पाँच बिघा भन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेको गैडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले बताउनुभयो ।

पालिकामा व्यवसायिक रुपमासँगै स्थानीयले खाली जमिनमा समेत सयपत्री लगाउने गरेका छन् । गैँडाकोटमा सबै जोड्दा आठ बिघामा फूल खेती गरिएको र उत्पादन भएको फूल स्थानीयलाई पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौँ, पोखरा, बुटवललगायतका शहरमा पठाउन पालिकाले समन्वय गरेको छ ।

 

 
 

कमेन्टहरु