स्थानीय स्तरमा उत्पादित फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नका लागि प्लास्टिकका मालाको विक्री वितरणमा रोक लगाइएको सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। ‘स्थानीय साथीहरुले फुल खेती गरिरहनु भएको छ, ‘उनले भने, ‘उहाँहरुलाई प्रोत्साहन गर्नुपर्छ, बाहिरी सामानलाई निरुत्साहित गर्नुपर्छ।’चाडपर्वलाई लक्षित गरेर नगरले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ। स्थानीय किसानले उत्पादन गरेको फुलको माग बढेको हो।
मौलिकता हराउने तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै शिगगंगा नगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए। ‘हाम्रा स्थानीय थुंगे फुल, सयपत्री, मखमली फुलहरुको प्रयोग बढाउनु पर्छ,उनले भने,‘मौलिकता मासेर प्लास्टिकका फुलहरुको प्रयोगले हाम्रा सांस्कृतिक पर्वहरु ओझेलमा पार्न सकिँदैन।’
दुवै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूलको माला र पुष्पगुच्छा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्। यसले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय कृषक र व्यापारीलाई पनि प्रोत्साहन मिल्ने उनीहरुको निष्कर्ष छ।

























