अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव


म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।
मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउसलगायत पूर्वाधार बनाउन बजेटसहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।
बेनीबाट दुई दिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीयस्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनमा ध्यान दिएमा एकै वर्ष हजारौँ पर्यटक पुग्ने धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।























