सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ बनेपछि पर्यटक आकर्षित


पाल्पा । झाडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।
बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतीक्षालय निर्माण गरिएको छ ।
चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बत्ताउँछन् । पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छ भने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उनले जानकारी दिए। यसलाई बाल उद्यानका रूपमा विकास गर्ने योजना उनको छ ।
खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बत्ताउँछन्, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् । खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्य स्थल बनेको छ ।
धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिक स्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगरप्रमुख थापाले बत्ताउँछन्।
“रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ”, उनले भने, “भूगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।”























