धरानका प्रमुख साम्पाङले कार्यवाहक तोकिएका वडाध्यक्षलाई काम नगर्न उच्च अदालतको आदेश


सप्तरी, कार्तिक ४ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश ध्रुवराज नन्दको इजलासले धरानका नगर प्रमुख साम्पाङले दिएको कार्यवाहक प्रमुखको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो साम्पाङले उपप्रमुख कार्यकक्षमा रहँदा रहँदै नाताले मामाससुरा पर्ने उपमहानगर–११ का वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर बेलायत गएका थिए। ।
उनले वडाध्यक्षलाई कार्यवाहक तोकेसँगै उपप्रमुख बेघा अदालत गएका थिए । आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यविभाजनसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेशसम्बन्धी छलफल पेसीका दिनसम्मका लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च. नं. २३२८ मिति २०८१ र असोज २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।
गत साता सुम्निमा पारुहाङको प्रतिमा निर्माणको सहयोगार्थ धरान समाज यूके र प्रतिमा निर्माण अभियानको निमन्त्रणमा साम्पाङ सपरिवार बेलायत उडेका हुन् । उनी तिहार मनाएर मात्रै नेपाल फर्कने कार्यक्रम छ ।























