कोदो फल्ने बारी थलिएको छ। घाँस र पातपतिंगर जस्ता झारले बारीमा साम्राज्य जमाएको बेनी जुम्लाको सिंजा गाउँपालिका-५ सुरबहादुर बुढाले बताए। करिब दश वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए। “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारै झार छ अनि कहाँबाट फलोस् त कोदो ” ८७ वर्षीय बुढाले भने।
उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ। काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि दुख अनुसारको गाउँ भन्ने जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरू बताउँछन्।
सिंजा-६ दानबहादुर बुढाको घरमा पनि काम गर्ने मान्छे छैनन्। उनको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन्। छोरा मजदुरी गर्न भारत गएका छन् भने बुहारीले घरमा नै किराना पसल गरेकी छन्।
वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन। कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए।
“कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बजारमा पाइने सेतो चामलको भातले कहाँ दिन्छ र?” उनले सम्झिए, “म सानो हुँदा कोदोको ढिँडो रोटी र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो। दिनभर काम गर्न सकिन्थ्यो।”
अहिलेका युवाले कोदोको महत्त्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ। औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको उक्त वडाका ६४ वर्षीया गोरी बुढाले बताइन्।
कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ। कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन्।
भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको गोरी गुनासो गर्छिन्।
गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटल केही स्कुलले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन्। होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको जुम्लाका होटल सञ्चालकहरू बताउँछन्।
गाउँगाउँमा ससाना सञ्चालित होटलहरूमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ। जुम्लामा कोदो पिठो प्रतिकेजी मुल्य १ सय ५० रुपैयाँ छ भने दाना १ सय २० रुपैयाँ मुल्य छ।
खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरूको भनाइ छ।
कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायत तत्त्वहरू पाइने ज्यामरुककोट शनिगाउँ स्वास्थ्य चौकीका चिकित्सक रमेश रावलले बताए।
तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ। जुम्लामा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ८ सय ४० हेक्टरमा खेती भइरहेको थियो। पछिल्लो समय घटेर ३ हजार ७ हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

























