स्वास्थ्य

डेंगी अन्यत्र घट्दै काठमाडौंमा बढ्दै

नवलपुर टुडे
२०८१ कार्तिक १ | बिहान ०७:०७ बजे

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि संक्रमित भर्ना भएका छन्। उक्त अस्पतालमा आइतबार १२, सोमबार १०, मंगलबार सात र बुधबार १० जना भर्ना भएका छन्। भर्ना भएकामध्ये केही उपचारपछि डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी प्रताप शाहीले बताए। ‘संक्रमित उपचारका लागि नआएको दिन छैन। सबै संक्रमित काठमाडौं उपत्यकाभित्रकै हुन्,’ उलने भने।

वीर अस्पतालमा पनि उपचारका लागि आउने संक्रमितको संख्या बढेको मेडिकल विभाग प्रमुख डा. धु्रव गैरेले बताए। ‘सबै अस्पतालमा डेंगीका बिरामी भर्ना भएका छन्,’ उनले भने। सबैजसो संक्रमित काठमाडौं उपत्यकाभित्रकै भएको अस्पतालहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा अक्टोबर महिनाको पहिलो र दोस्रो सातामा एक हजार ३६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। हालसम्म काठमाडौं उपत्यकामा तीन हजार एक सय तीनजनामा डेंगी पुष्टि भएको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने अक्टोबर महिनामा संक्रमण दर घट्दो क्रममा छ। अक्टोबर महिनाको तथ्यांकअनुसार तनहुँमा ३४२, पवर्तमा २५३, कास्कीमा ३९६, ललितपुरमा ३१०, पाल्पामा १०३, बागलुङमा २४२ र चितवनमा १२४ जनामा संक्रमण पुष्टि भएको छ। तुलनात्मक रूपमा उपत्यकाबाहिरका जिल्लामा संक्रमण घट्दो क्रममा देखिन्छ। तर काठमाडौं उपत्यकामा उस्तै दरमा संक्रमण भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

‘अन्यत्र संक्रमण दर घट्दो देखिन्छ, काठमाडौं उपत्यकामा भने बढेकै छ,’ उनले भने। काठमाडौं उपत्यकामा सेप्टेम्बर महिनामा एक हजार पाँच सय जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। हालसम्म देशभरिमा १९ हजार ५९९ जनामा डेंगी संक्रमण पुष्टि र यसैका कारण नौजनाको मृत्यु भएको छ। देशका ७६ जिल्लामा डेंगी संक्रमित देखिएका छन्।

गत वर्षको तुलनामा यो वर्षको अक्टोबरमा कम संक्रमण भएको कीटजन्य रोग शाखाप्रमुख दाहालले बताए। गत वर्ष अक्टोबरमा आठ हजार ६८१ जनामा संक्रमण पुष्टि भएकोमा यो वर्षको अक्टोबरको हालसम्म चार हजार ३० जना संक्रमित भएका छन्।

केही दिनदेखि तापक्रम घट्दै गएकाले अब डेंगी संक्रमण दर घट्ने संकेत मिलेको उनी बताउँछन्। तर कात्तिक महिनासम्म संक्रमण भने जारी रहने भएकाले सबै सचेत हुनुपर्ने उनले औंल्याए।

यो वर्ष बाढीका कारण अपेक्षित भन्दा कममा डेंगी संक्रमण भएको डा. दाहालको विश्लेषण छ। बाढीले लामखुट्टेको लार्भा बगाएका कारण पनि संक्रमण कम भएको हुन सक्ने उनी बताउँछन। बाढीपछि पानी जम्मा भएको भागमा पनि लामखुट्टे वृद्धि हुने सम्भावना घटेको उनले बताए।

डेंगी संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्ने, घरमा या कार्यालयमा बस्दा शरीर छोप्ने कपडा लगाउने या लामखुट्टेविरुद्धको मलम लगाउने, घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जमेको भाग पुर्ने, खुला भाँडामा एक साताभन्दा बढी पानी नराख्ने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।

कमेन्टहरु