धर्म–संस्कृति/रीतिथिति, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मार्तडीमा राँगा जुधाएर दशैँको सुरुवात


बाजुरा, असोज १६। बाजुराको मार्तडीमा राँगालाई एक आपसमा जुधाएर दशैँको सुरुवात गरिएको छ। दसैंको अवसर पारि बडीमालिका नगरपालिका वडा नम्बर ८ को बाउली बगरमा आज विशेष कार्यक्रम आयोजना गर्दै राँगा जुधाएर दसैंको उत्सव प्रारम्भ गरिएको हो।
मार्तडीबासीहरूले प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिन राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने परम्परा कायम गरेका छन्। ओल्लो पल्लो गाउँका राँगाहरुको जोडी बनाएर प्रतिस्पर्धा गराइन्छ, जसले स्थानीयहरूको निकै उत्साहपूर्वक सहभागिता देखिन्छ।
यस परम्पराअन्तर्गत मार्तडीका स्थानीयहरूले घटस्थापनाको अघिल्लो दिन आफ्ना घरहरूमा जमरा राख्ने चलन पनि छ। दिउँसोको समयमा राँगाहरुको भिडन्त हेरेर रमाइलो गर्ने चलन सदियौँ पुरानो परम्परा मानिन्छ। दसैंको अवसरमा मार्तडी र आसपासका विभिन्न क्षेत्रमा यस्ता राँगा जुधाउने प्रतियोगिता आयोजना गरिँदै आएको छ।























