प्रधानन्यायाधीशमा राउतको नाम सर्वसहमतिले अनुमोदन


काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रकाशमान सिंहको नाम सर्वसहमतिले अनुमोदन गरेको छ। बुधबार राउतसँग गरेको सवाल जवाफ लगत्तै समितिले उनको नाम अनुमोदन गरेर नियुक्तिका लागि बाटो खोलि दिएको हो। आठ वर्षअघि कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीश भएका राउत असोज २० गतेपछि प्रधानन्यायाधीश हुने पक्कापक्की भएको हो।
असोेज २० गतेदेखि हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण अवकासमा जाँदैछन्। त्यसपछि १८ महिना प्रधानन्यायाधीश र न्याय परिषद अध्यक्षका रुपमा न्याय प्रशासनको नेतृत्वका गर्ने अवसर राउतले पाउन लागेका हुन्। संवैधानिक परिषदले राउतलाई प्रधानन्यायाधीशका रुपमा भदौ ३१ गते सिफारिस गरेको थियो।
असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध ६ वटा उजुरी परेको थियो। सुनुवाइ समितिले अनुमोदन गरेको जानकारी पाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराउनेछन्। यस्तै सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा सिफारिस चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ।























