बझाङको बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बझाङ। बित्थडचीर गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले बित्थडचिरबासीका बाख्रा, कुकुर लगायतका घरपालुवा जनावर मार्ने र मानिसहरुलाई तर्साउन थालेको हो ।
सोमबार वेलुका मात्रै बित्थडचिर गाउँपालिका वडा नम्बर -२ सुवालेकको लामालेख हरिखायो सामुदयिक वनमा चराउन लगेका १० वटा बाख्रा मारेर खाएको छ । ४० वटा बाख्रा पालन रहेको केदार बाख्रा एन्ड बहुउद्देश्यीय कृषि फर्मका सोमबार वेलुका चराउन लगेको बेला १० वटा बाख्रा बाघले मारेर खाएको फर्मका सञ्चालक कर्णबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो,” म काम विशेषले गाउँबाहिर थिएँ । बुबा बाख्रा चराउन जानुभएको थियो । वनमा थाहा पाउनुभएन छ । खोरमा आएपछि शंका लागि गन्ती गर्दा १० वटा बाख्रा थिएनन् । त्यो बेला रात परिसकेको थियो । “
यसअघि केही महिनाअघि खोरबाटै एउटा खसि र एउटा माउ बाख्रो लगेको बाघले आइतबार मात्रै आफ्नै घर अगाडीबाट एउटा कुकुर मारेर खाएको बाघ आतंकित भएर आफ्ना १० वटा बाख्रा मारेको उहाँको भनाई छ । सोमबार बेलुका सुवालेकको लामालेख हरिखायो सामुदयिक वनमा चराउन लगिएका बाख्रा खोरमा नफर्केपछि राति खोजी गर्न नसकिएको र आज मंगलबार बिहानैदेखि खोजीमा लागेको पिडित बोहराले बताउनुभयो ।
खोजीका क्रममा ६ वटा बाख्रा हरिखायो सामुदयिक वनभित्र विभिन्न ठाउँमा भेटिए पनि चारवटाबाख्रा अझै नभेटिएको पिडित बोहराको भनाई छ । बारम्बार बाघको निसानामा बाख्रा पर्न थालेपछि आफुले सञ्चालन गरिरहेको केदार बाख्रा एन्ड बहुउद्देश्यीय कृषि फर्म व्यवसाय नै धरापमा परेको बोहराले बताउनुभयो । बाघको आक्रमणबाट आफुलाई यसपटक मात्रै डेढ लाख बढी क्षति पुगेको उहाँको भनाई छ ।























