देश, पर्यटन, मुख्य समाचार, समाचार
पर्यटन मन्त्री पाण्डेको शुभकामना सन्देश: पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहकार्यको अपेक्षा


बाजुरा, असोज ११। ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेको शुभकामना सन्देश नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग र सहकार्यको अपेक्षा समेत राखेका छन। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल ४५ औं विश्व पर्यटन दिवसको शुभकामना ‘पर्यटन र शान्ति’ को नाराका साथ आज विश्व पर्यटन दिवस पर्यटन क्षेत्रका सरोकारवाला निकायहरू सँगको सहकार्यमा पर्यटन सम्बन्धी कार्यक्रमहरूको आयोजनाका साथ मनाइँदैछ। नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ। हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आवद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक छ । पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद भ्रमणको अनुभूति हुने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो।
विश्वव्यापी कोभिड -१९ महामारीले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर असर पुयाए पश्चात् नेपालमा पर्यटकको सङ्ख्या सन् १९७७ पछिको सबैभन्दा न्यून अवस्थामा पुग्ने दुःखद अवस्था सिर्जना भएको थियो । तथापि, नेपालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि लिएका नीति, कार्यक्रम तथा प्रयासको परिणाम स्वरूप सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या १० लाख १४ हजार र सन् २०२४ को पहिलो महिनामा ७ लाख २२ हजार पुग्नुले यस क्षेत्रमा उत्साहको अवस्था सिर्जना भएको छ । पर्यटनको एक महत्त्वपूर्ण पूर्वाधार हवाई यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई सुरक्षा सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाइएका छन्। यस बीचमा नयाँ पर्यटन नीति र ऐन तथा नयाँ संस्कृति नीति तर्जुमा गर्ने कार्य अगाडि बढाइएको छ।
१६ औं योजना, दिगो विकास लक्ष्य र क्षेत्रगत नीति तथा कार्यक्रमद्वारा पर्यटन क्षेत्रलाई रोजगारी, वैदेशिक मुद्रा आम्दानी, अन्तर्राष्ट्रिय पहिचान एवं भ्रातृत्वको विकास गर्न महत्त्वपूर्ण माध्यम मानिएको छ। सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र सँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजना सहित मन्त्रालयबाट कार्यहरू अगाडि वढेका छन् । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण स्तरसम्म पुयाउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आवद्ध गर्दै अघि बढ्न उपयुक्त देखिन्छ।अन्त्यमा, पर्यटन क्षेत्रमा संलग्न सम्पूर्ण सरकारी, गैरसरकारी, निजी व्यवसायी सङ्घसंस्था तथा आम जनसमुदायलाई ४५औं विश्व पर्यटन दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै, नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग र सहकार्यको अपेक्षा साथ धन्यवाद दिएका छन।























