मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
शिक्षक संघ नगर कार्यसमिति द्वारा बुढिनन्दा नगरपालिकालाई ज्ञापन पत्र


बाजुरा, असोज ०८। राजनीतिक पुर्वाग्रही नगर शिक्षकहरुलाई हटाउने गरी नगरसभाको निर्णय गरेको भन्दै नेपाल शिक्षक संघ बुढिनन्दा नगरकार्य समिति द्वारा ज्ञापन बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरालाई ज्ञापन पत्र बुझाएको छ। देश विकासको मेरुदण्ड, व्यक्तिलाई मानव बनाउने ‘शिक्षा’ क्षेत्रको उन्नयन र विकासका लागि राष्ट्रको सम्पूर्ण तागत लागिरहेको र शिक्षामा सर्व शुलभ पहुँच अभिबद्धि गरी गुणस्तर बढाउन र कमजोर हुँदै गएको नेपालको सार्वजानिक शिक्षा प्रणालीमा सुधारका प्रयास गर्न सबै क्षेत्र, वर्ग र समुदायको इमान्दार प्रयास हुनुपर्ने हो। अझै त्यसमा पनि संघ, प्रदेश र स्थानीय तहको साझा सरोकारको क्षेत्र रहेको शिक्षा क्षेत्रमा स्थानीय तहको लगानी अभिवृद्धि गर्दै जानुपर्ने र तद अनुरुपको शिक्षा नीति, नियम, योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने अवस्थामा बुढिनन्दा नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट मार्फत शिक्षामा लगानी घटाई झन शिक्षा संकुचनको अवस्था सृजना गरी नगरपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत नगर शिक्षकहरुलाई हटाउने गरी भएको नगरसभाको निर्णयले नगरपालिकाको शिक्षा क्षेत्र झन तहस नहस हुने अवस्था सृजना गरेको छ।
कक्षा अनुसारको शिक्षक दरबन्दी नभएको र विषयगत शिक्षकको अभाव रहेको अवस्था विद्यमान हुँदा हुदै त्यसलाई समेत नजर अन्दाज नगरी राजनीतिक पुर्वाग्रही आधारमा यस्तो अप्रिय निर्णय भएकोमा सिंगो शैक्षिक क्षेत्र स्तब्ध भएको छ। यसले आगामी शैक्षिक अवस्था झन कमजोर गुणस्तरहिन र अस्तब्यस्त हुने निश्चित छ। यस प्रकारको शिक्षा विकास विरोधी निर्णय प्रति नेपाल शिक्षक संघ बुढीनन्दा नगरकार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ । “सुखी नगरवासी, समृद्ध बुढीनन्दा” को नारा दिने र हाम्रो प्राथामिकता भनेकै शिक्षा र स्वास्थ्य हो माने नगर सरकारको भनाईको ठिक विपरित यस्तो निर्णय हुनु दुःखद् र आपत्तिजनक विषय रहेकोे छ। विगतको स्थानीय सरकारले गरेको नगर शिक्षकहरु राख्ने निर्णय उल्टाउने जुन प्रयास वर्तमान स्थानीय सरकारले गरेको छ। त्यो पुर्वाग्रही मानसिकताको उपज हो भन्ने हामीहरुलाई लागेको छ।
तसर्थ विगतको सरकारले नियुक्त गरेका नगर शिक्षकहरुलाई विना कारण सेवाबाट हटाउने निर्णय तत्काल फिर्ता गरी सबैलाई यथावत रुपमा कामकाजमा लगाउन र पछिल्लो समय निति नियम विधि विधान विपरित पजनी शैलीमा श्रम शोषण गरेर गोप्य किसिमले नगर शिक्षक राखेको भन्ने सुनिन बुझिन आएकोले यस्ता गतिविधि तत्काल रोकीशुसाशन कायम गर्न हामी यसै विज्ञप्ती मार्फत जोडदार माग गर्दछौ । यदि उक्त निर्णय नसच्चाइ नगर शिक्षकहरुलाई सेवाबाट हटाउने काम र पजनी शैलीमा नगर शिक्षक नियुक्त गर्ने काम भयो भने हामी चुप लागेर नबस्ने बरु चरणबद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुने भएकाले सोही व्यहोराको जानकारी गराएका छौं। यसबाट हुन सक्ने शैक्षिक क्षति र अप्रिय घटनाको जिम्मेवारी स्वयम् स्थानीय सरकारले लिनु पर्नेछ भन्ने कुराको जानकारी गराउदै यो ज्ञापन पत्र बुढिनन्दा नगरपालिका नगर प्रमुख बुझाएको नेपाल शिक्षक संघ बुढिनन्दा नगरकार्य समितिले जनाएको छ।























