मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

कोल्टी अस्पतालले विपन्न नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय

उमेश रोकाया
२०८१ अशोज ८ | मध्यान्ह ०४:०६ बजे

बाजुरा, असोज ०८। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिकाभित्रका विपन्न परिवारका नागरिकहरूको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ। बुधवार नगर प्रमुख र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार बोहराको अध्यक्षतामा बसेको बैठकमा यो निर्णय भएको हो। बैठकले विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्तिहरू, एकल महिलाहरू, ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न बिरामी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई कोल्टी अस्पतालले निःशुल्क आधारभूत स्वास्थ्य सेवाबाहेकका अन्य सेवाहरूमा २० प्रतिशत र औषधि शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख जनक कुमार बोहराले बताए।

अस्पतालले २० प्रतिशत छुट दिने भएपछि स्थानीय समुदायका लागि स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो हुने बताइएको छ । अब बुढीनन्दा नगरपालिका भित्रका विभिन्न वर्गका नागरिकहरूलाई विशेष सहुलियत प्राप्त हुनेछ। पूर्वउत्तरी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ला मुगु र हुम्लाका बिरामीहरू पनि कोल्टी आधारभूत अस्पतालबाट उपचार सेवा लिने गरेका छन्।

कमेन्टहरु