संसदीय छानबिन विशेष समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै


काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ ।
उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् । प्रतिवेदनलाई अन्तिम रुप दिन बसेको बैठक भर्खरै सकिएपछि समितिका सांसदहरू प्रतिनिधसभाको बैठकतर्फ लागेका छन् ।
सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिए । बैठकको अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।
‘प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्’ सभापति थापाले भने । प्रतिवेदन १८ परिच्छेदमा छ । प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।
छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवदेन अन्तिम रुप दिइ हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।























