देश

प्रहरीको लज्जास्पद अनुसन्धान: ‘बेपत्ता’ व्यक्ति भेटिए, अपहरण आरोपी जेलमा !

पत्रपत्रिकाबाट
२०८१ भदौ २९ | मध्यान्ह ०३:०५ बजे

यो समाचार नागरिक दैनिकमा छ, वीरेन्द्रका दाजु खगेन्द्रले मञ्जुलमाथि अपहरण गरी बेपत्ता बनाएको किटानी जाहेरी प्रहरीमा दिएका थिए। खगेन्द्रकै जाहेरीका आधारमा प्रहरीले मञ्जुलमाथि जिल्ला अदालत ताप्लेजुङमा मुद्दा चलायो। अदालतले मञ्जुललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो। त्यसयता मञ्जुल जेलमा छन्।

उसो त मञ्जुलका परिवारले जिल्ला अदालतको आदेशमा चित्त नबुझेर उच्च अदालत इलाममा कैफियत निवेदन दिएका छन्। उच्च अदालतले जिल्ला अदालतको सक्कलै फाइल मागिसकेको छ।

‘पुनरावेदन परेपछि जिल्ला अदालतको सक्कलै मिसिल हामीले उच्च अदालत इजलास इलाममा पठाएका छौं’, ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले भने।

1726304323 Untitled 1

जेलमा रहेका मञ्जुल यातायात मजदुर हुन्। उनी काठमाडौं जाने सवारीका टिकट काट्थे। वीरेन्द्रको काठमाडौं जाने टिकट काटिदिएकै कारण उनलाई अपहरण र बेपत्ताको आरोप लागेको जानकारहरू बताउँछन्।

वीरेन्द्र मानसिक रूपमा अस्वस्थ\असक्त व्यक्ति हुन्। त्यस्तो व्यक्तिको परिवारको स्वीकृतविना नै टिकट काटेर बाहिर पठाएको अभियोग वीरेन्द्रका परिवारले मञ्जुलमाथि लगाएका छन्।

यता बेपत्ता भएका वीरेन्द्र फेला परिसकेका छन्। मञ्जुलविरुद्ध जाहेरी दिने वीरेन्द्रका दाजु खगेन्द्रले पनि भाइ वीरेन्द्र फेला परिसकेको पुष्टि गरेका छन्। ‘सकुशल भेटिएको छ। अब स्वास्थ्य परीक्षण गरेर घर ल्याउँछौं’, खगेन्द्रले भने।

यता मञ्जुलविरुद्ध मुद्दा चलिरहँदा वीरेन्द्र हराएको ६ दिनमै प्रहरीको सम्पर्कमा रहेको पाइएको छ। प्रहरी वृत्त जगाती भक्तपुरको पत्रअनुसार यस्तो तथ्य भेटिएको हो।

प्रहरी वृत्त जगाती भक्तपुरको पत्र (चलानी नं ७३) अनुसार वीरेन्द्र ०८० मंसिर २५ नेपाल घर आश्रम डोलेश्वरधाम पुगेको देखिन्छ। आश्रमले समेत उसै दिन वीरेन्द्रलाई आश्रमस्थलमा स्वीकार गरेको प्रतिलिपि पत्र सार्वजनिक भएको छ।

‘अन्दाजी ३५ वर्षीय पुरुष बेवारिसे अवस्थामा सल्लाघारीमा स्थानीयले फेला पारी बुझाएकोमा निज पुरुषको आफन्त खोजतलास गर्दा गराउँदा सम्पर्कमा नआएकाले आवश्यक संरक्षणका लागि’ भन्दै प्रहरीले नेपाल घर आश्रम डोलेश्वरधामलाई बुझाएको छ।

यसरी एकातिर प्रहरीकै सम्पर्कमा हराएका व्यक्ति देखिँदा अर्कातिर उनलाई अपहरण गरी बेपत्ता पारेको कसुरमा निर्दोष व्यक्तिउपर मुद्दा चलाइएको देखिएको छ। अझ अर्को विडम्बना हराएको व्यक्ति भेटिँदासमेत त्यही व्यक्तिको अपहरणको आरोपमा निर्दोष व्यक्ति जेलमा थुनिएका छन्। 

1726305498 patra
प्रहरी वृत जगाती भक्तपुरको पत्र

नागरिक अगुवाको विरोध

यता बेपत्ता व्यक्ति फेला परिसकेको अवस्थामा उसलाई अपहरणको आरोप लागेका व्यक्ति थुनामा रहिरहनु दुःखद् भएको ताप्लेजुङका नागरिक अगुवाले बताएका छन्। थुनामा रहेका मञ्जुलको तत्काल रिहाइ गरी गैरन्यायिक हिरासतवापत उचित क्षतिपूर्तिसमेत दिन माग गरेका छन्।

नागरिक अगुवा ज्ञानप्रसाद मिश्रले बेपत्ता पारिएको भनिएको व्यक्ति भेटिँदा निर्दोष व्यक्ति अपहरणका आरोपमा थुना हुनु न्यायोचित नभएको बताउँछन्।  

प्रहरीको फितलो र गैरजिम्मेवारपूर्ण अनुसन्धानकै कारण यो अवस्था देखिएको उनको आरोप छ। ‘यत्रो समय नगरेको कसुरमा थुनिएका व्यक्तिले गैरन्यायिक जेल भोगेबाफत क्षतिपूर्ति पाउनुपर्छ। त्यो उनको अधिकारको कुरा हो’, उनले भने।

नागरिक अनुवा मनमणि काफ्लेले अभियोग खेपिरहेका व्यक्तिलाई ‘एउटा निरिह नागरिक’ को संज्ञा दिँदै उनको शीघ्र रिहाइ र उचित क्षतिपूर्ति नदिए थप पीडित बन्ने दाबी गरे।

अर्का नागरिक अगुवा इन्द्रबहादुर गुरुङले पीडितले न्याय र क्षतिपूर्ति पाउनुपर्नेसहित न्यायिक निकासको माग गरेका छन्।

 
 

कमेन्टहरु