साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक सुवेदीविरुद्ध मुद्दा


काठमाडौँ । मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीको परिवारसँग पैला लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ । सुवेदीले साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी प्रतिवादीका दाजुसँग ९९ हजार रुपैयाँ घुस लिएको उजुरी परेको थियो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सुवेदीले घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हो । सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ९९ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय माग गरिएको छ ।
त्यस्तै सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेको भनाई छ।























