नेपाल वायुसेवाको वाइडबडी ‘सी चेक’ बाट दुई महिनापछि फर्कियो

नवलपुर टुडे
२०८१ भदौ २७ | बिहान ०९:०५ बजे

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज ‘सी चेक’ बाट दुई महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज U9N– ALY (अन्नपूर्ण) नियमित सी चेक मर्मतपछि आज ८ बजेर ३६ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिने जनाउँदै यात्रुलाई थप सुविधा पुग्ने विश्वास लिएको छ । ‘सी–चेक’ का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ । एकै पटक दुईवटा विमान ‘सी–चेक’ का लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए ।























