देश

‘मिडियाको नाममा अराजकता फैलाउनेलाई कारबाही’

नवलपुर टुडे
२०८१ भदौ २१ | मध्यान्ह १२:०५ बजे

गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्युब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राख्दै कारबाही गर्दै आएको उनले बताए।

‘आफूलाई मिडियाको परिचय दिई विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन्। समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्,’ बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भने।

उनले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरूपयोग हुने भएकाले त्यस्ता पत्रकारको कार्ड खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको जानकारी दिए। उनले स्वतन्त्रताको दुरूपयोग गर्ने मिडियाप्रति जनविश्वास नहुने र आफैं खुम्चिने समेत बताए।

‘युट्युब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौं भन्नेतर्फ हमेसा ख्याल गर्नुपर्छ। त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ,’ नयाँ अनलाइन, युट्युब माध्यमका सञ्चालक, सम्पादकहरूसँगको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले ध्यानाकर्षण गराउँदै भने।

प्रेस काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई वर्गीकरण गरेको छ । बिनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ। पछिल्लो तीन महिनायता ४९ वटा विभिन्न युट्युब च्यानल काउन्सिलको कारबाहीमा परेका छन्।

अभिमुखीकरण कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र अनुगमन अधिकृत महेन्द्र सिंहले सञ्चार निर्देशिकाको अवस्थाबारे प्रस्तुति राखेका थिए।

काउन्सिलले दुई वर्षयता अनलाइन सञ्चार माध्यमलाई आचारसंहिता पालनामा केन्द्रित गराउन अभिमुखीकरण कक्षालाई अनिवार्य गराएको छ। साथै, सञ्चारमाध्यमका रूपमा चल्ने युट्युब च्यानललाई समेत दर्ता र पत्रकार आचारसंहिताको कक्षा लिनुपर्ने कार्यविधि बनाई लागु गरेको छ।

कमेन्टहरु