मिडियामाथि बढ्दै छ नागरिकको भरोसा

मिडियालाई राज्यको चौथो अंगका रूपमा हेरिन्छ । तर, आजको विज्ञान प्रविधिको युगमा मिडिया राज्यको पहिलो अंगकै रूपमा देखिन थालेको छ । भुँइमान्छेदेखि सचेत नागरिकसम्म यसको प्रभाव देख्न सकिन्छ । जब कि मिडिया आफैँमा समस्या समाधान गर्ने निकाय होइन, सूचना र सन्देश सम्प्रेषण गर्ने एउटा माध्यम मात्र हो ।
एउटा मिडिया, पत्रकार वा समाजिक सञ्जाल चलाउनेले गलतलाई सत्य भनिदियो भने पनि तत्काल मानिसको ठुलो जमातले आँखा चिम्लेर विश्वास गरिरहेका हुन्छन् । राज्य र तिनका निकाय तथा सामाजिक संघसंस्थाले जतिसुकै राम्रो काम गरे पनि विश्वास गर्ने अवस्था बन्न सकिरहेको छैन । किनभने इतिहासदेखि आजसम्म राज्यका गतिविधि र क्रियाकलापबाट नागरिक आजित छन् ।
त्यसैले, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अन्तिम अस्त्रका रूपमा नागरिकले मिडियालाई स्विकार्न थालेका छन् । मिडियामाथि नागरिकको आशा र भरोसा दिनानुदिन बढिरहेको छ भने राज्य र शासकमाथिको आशा र भरोसा घट्दो छ ।उहिले ‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति चलेको थियो, अहिले न्याय नपाए मिडिया खोज्नु भन्ने भाष्य निर्माण हुँदै छ । राज्यमाथिको विश्वास गुम्दो र गिर्दो अवस्थामा छ । तर, कतिपय अवस्थामा केही मिडिया, पत्रकार र सामाजिक सञ्जाल सञ्चालकले यसलाई दुरूपयोग नगरेका भने होइनन् । उनीहरूमध्ये कतिपयले मिडिया, पत्रकारिता तथा सामाजिक सञ्जालको मूल्य र मान्यता पनि परिपालन गरिरहेका छैनन् । उनीहरूले देश, समाज र नागरिकका समस्यालाई कतिपय अवस्थामा अतिरञ्जित तरिकाले प्रकाशन, प्रसारण गरेर मिलेर बसेको समाज, परिवार र व्यक्तिबिच क्रमभंग हुने गरी आफ्नो व्यावसायिक स्वार्थ पूरा गरिरहेका हुन्छन् ।
तर, मूलधारका मिडियाको विश्वसनीयताले भने समाजमा सकारात्मक प्रभाव पारिरहेकै हुन्छ । कुनै किसिमको घटना, दुर्घटना, न्याय र मुक्ति तथा हक–अधिकारलगायत कुरा आयो भने पहिला राज्य र तिनका निकायलाई सम्झिनुपर्ने हो । तर, यहाँ मिडियामा पुग्ने, पत्रकारलाई सम्झिने र भरोसा गर्ने वातावरण बनेको छ । राज्यका निकायलाई भन्दा मिडियालाई विश्वास गर्न थालेका छन्, मानिसहरूले । यतिसम्म कि एउटा व्यक्तिको घरझगडामा समेत मिडियाकै प्रयोग हुन थालेको छ ।
पछिल्लोपटक समाजको गरिबी, बेरोजगारी, भोकमरी, भ्रष्टाचार र बेथितिदेखि स्वास्थ्योपचार तथा कानुनी जटिलतामा पनि मिडियाले नै ‘कमान्ड’ गरिरहेको आभास हुन्छ । यसरी मिडिया नभई केही पनि नहुने स्थितिको सिर्जना किन हुँदै छ ? यो स्थिति कसले निर्माण गर्दै छन् ? विषय गम्भीर अवश्य छ ।























