देश

ओलम्पिक पदक विजेता पलेशालाई एनसेलले दियाे १० लाख

नवलपुर टुडे
२०८१ भदौ १९ | मध्यान्ह ०८:०५ बजे

काठमाडौँ । एनसेलले ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेकाे छ।

नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धनलाई एनसेललले १० लाख र अन्य सहभागी पारा खेलाडीहरू तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हाे।

Para Olympics 1

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।  एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव भएको बताए। 

उनले भने,‘ पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो। एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं।’

पलेसा गोवर्धन बुधबार नेपाल आएकी हुन्। पलेशाको सम्मानमा बाजागाजासहितको राष्ट्रिय खेलकुद परिषदको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै राखेपले नगर परिक्रमा गराएको थियो।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिकमा तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले पारा ओलम्पिकमा सहभागिता जनाउँदै आएको थियो।

एशियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलताका रुपमा रहेको थियो। अब पेरिस पारा ओलम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले नयाँ इतिहास बनाएको छ।

कमेन्टहरु