नवलपुरमा विषादी द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा


नवलपुर, भदौ १९ । नवलपुरको कावासोतीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
तरकारी र फलफूलमा अत्यधिक विषादीको प्रयोग हुन थालेपछि सो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । स्वास्थ्यमा गुनासो आउन थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि विभागले विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रयोगशाला साउन २८ गतेदेखि खुलेको भए पनि केमिकलको अभावमा सञ्चालनमा आउन सकेको थिएन । अब नियमित रुपमा विषादी परीक्षण गरेर रिपोट तयार गर्न सकिने कृषि प्राविधिक बिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ९५ वटा तरकारी बालीको परीक्षण गरिएको छ भने सबैमा सामान्य रुपमै विषादी देखिएको छ ।
मौसमीभन्दा पनि बेमौसमी तरकारीमा विषादी बढी प्रयोग गरिएको हुन सक्ने भएकाले त्यसलाई बढी महत्वका साथ हेरिएको भण्डारीले बताउनुभयो ।
केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवनका प्रमुख महेशचन्द्र आचार्यले सरकारले २४ प्रकारका विषादी प्रयोगमा प्रतिवन्ध लगाए पनि भारतसँगको खुला सिमाका कारण नेपाल भित्रिएर किसानले प्रयोग गरेको पाइएको जानकारी दिनुभयो ।
तरकारी र फलफूलमा प्रयोग गरिएको विषादीबाट नकारात्मक असर पनि देखिएको, कृषक आफै बढी प्रभावित भएर क्यान्सर, मिर्गौला रोग, छालाको रोग, नपुंसकता लगायत विभिन्न समस्या देखिने कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।























