वडा प्रहरी कार्यालय बिर्ताका क्यूआरटी ईन्चार्ज अनिरुद्धको आतंक, सर्वसाधारण पिडित


वीरगंज १७ भदौ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी हवलदार (घुमुवा) अनिरुद्ध प्रसाद यादवका कारण सार्वसाधारण पिडित बन्न पुगेको गुनासो बढन थालेको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले सर्वसाधारणको शान्ति सुरक्षा र अमन चैनका लागि क्यूआरटी घुमुवाको रुपमा यादवको नेतृत्वमा टोली खटाए पनि उनले आफ्नो पदको दुरुपयोग गर्दै सर्वासाधारणलाई आतंकित पार्ने काम अगाडि बढाएको स्थानियहरुले गुनासो गरेका छन् ।
घुमुवाको रुपमा खटेका प्रहरी हवलदार यादवले सिमावर्ती क्षेत्र छपकैया, ईनर्वा गाउँ, भुटनदेवी, नगवा लगायतका स्थानहरुमा पुगी तस्करहरुबाट महिनवारी असुली गरिरहेको समाचार स्रोतले जनाएको छ । वीरगंजको ईनर्वा गाउँ, नगवा लगायतका स्थानहरुबाट प्रत्येक दिन रक्सी लगायतका सामग्रीहरु भारततर्फ तस्करी हुदै आएको छ, भने भारतबाट हाडवेर्यर, कपडा, किराना सामग्री, प्रतिबन्धित औषधी, भैसी पाडा, काजु, चिनी लगायतका सामग्रीहरु तस्करीको माध्यमबाट नेपाल आईरहेको छ । वीरगंजको यी नाकाहरुबाट सर्वसाधारणहरुले आफ्नो घर खर्चको लागि एक बोरा चामल तथा घरायसी सामग्रीहरु ल्याउदा हवलदार यादवले बिना पैसाको कसैलाई आउन नदिने गरेको स्थानियहरुले पिडा पोखेका छन् ।
उनले भारतको रक्सौल लगायतको बजारहरुबाट घरायसी सामग्री लिएर आउदा सर्वसाधारणहरुलाई रोकी चेकजाँचको बहानामा समातेर लग्ने, थुनी दिने लगायतका धाक धम्कीहरु देखाउदै रु. ५० देखि ५ सय सम्म लिने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । त्यहि नाकाबाट तस्करी गर्ने तस्करहरु सँग साठगाठ गरी लाखौंको सामग्रीहरु ल्याउदा कुनै रोकटोक नगर्ने गरेको स्थानियहरुको आरोप रहेको छ । तस्करहरु सँग मासिक रुपमै नजराना लिने गरेको कारण तस्करहरुलाई छुट दिएको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
हवलदार यादव तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका एक जना बरिष्ठ प्रहरी नायब निरिक्षकको आर्शिवादले वडा प्रहरी कार्यालय बिर्तामा घुमुवको जिम्मेवारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेल पर्सामा आए देखि नै तस्करी नियन्त्रण र शान्ति सुरक्षा दिनमा खरो रुपमा उत्रिएको भए पनि प्रहरी हवलदार यादवको काम कारवाहीले प्रहरी संगठन नै बदनाम हुदै गएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी संगठनलाई नै बदनाम गराउनमा तल्लिन देखिएको हवलदार यादव माथि माथिल्लो अधिकृतहरुको ध्यान जान जरुरी रहेको स्थानियहरुको भनाई रहेको छ ।
सो बारेमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी हवलदार अनिरुद्ध प्रसाद यादव सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।























