स्वास्थ्य

सिरहाको लहान प्रादेशिक अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के

रामएकवाल राम
२०८१ भदौ १५ | बिहान ०९:०५ बजे

सिरहा । अस्पतालको सेवा प्रवाह खस्किँदै गएको जनगुनासो बढ्न थालेपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार राती सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा छड्के चेक गरेका छन्। लहान ३ स्थित अस्पतालमा सीमित सुरक्षाकर्मीसहित आएका मुख्यमन्त्री सिंहले राती पौने ९ बजेदेखि करिब एक घण्टा अस्पतालको विभिन्न वार्ड, प्रशासन शाखा, शल्यक्रिया कक्षको अनुगमन गरे ।

उनले बीमा इकाई, इमरर्जेन्सी वार्ड, नर्सिङ प्रसूती कक्ष, प्रयोगशाला, अन्तरंग विभाग, फार्मेसी, अस्पतालको सरसफाइको अनुगमन गरी ड्युटी इञ्चार्जसँग सोधपुछ गरेका थिए । त्यसक्रममा उनले ड्युटी रोस्टर अनुसार स्वास्थ्यकर्मी आए नआएको, नआएको भए किन नआएको बारे सोधपुछ गर्नुका साथै  प्रयोगाशालाको सेवा, रजिष्टर र कम्प्युटरमा प्रविष्टी भए नभएको हेरेका थिए। 

अनुगमनको क्रममा वार्डमा पुगेका मुख्यमन्त्री सिंहलाई बिरामीका कुरुवाहरुले अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट लगायतका चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई बोलाउँदा मात्र आउने, प्रायः औषधि अस्पतालको फार्मेसीभन्दा बाहिरबाट किन्नु पर्ने, अस्पतालमा भिडियो एक्सरे मेसिन भएपनि बाहिरबाट गराउनु पर्ने, इमर्जेन्सी वार्डमा लामखुट्टेले टोकेर सुत्न समेत नपाइने जस्ता गुनासो गरेका थिए । 

तीन चार दिनभित्र सुधार हुने आश्वासन
अनुगमन सकेर फर्किने क्रममा मुख्यमन्त्री सिंहले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै जनताको स्वास्थ्यप्रतिको दायित्व सरकारको रहेकाले जनगुनासो बढेपछि आफैँले अस्पतालको सेवा प्रवाहको बारेमा बुझ्न आएको बताए । 

‘अस्पतालका सेवा प्रवाह सम्बन्धी समस्याहरु, मेडिकल सुपरिण्टेण्डेण्ट, चिकित्सक, स्वास्थ्यकर्मीहरुले आफ्नो ड्युटी अनुसार काम गरे नगरेको, सरकारको नियम पालना गरे /नगरेको हेरियो’ उनले भने ‘अस्पतालका मेसुलाई सबै पक्षको राम्रो जानकारी रहनपर्छ, अस्पताल व्यवस्थापनले नसक्ने छ भने माथिल्लो निकायलाई भन्नु पर्छ ।’

अनुसगमनबाट फर्किएपछि अस्पतालको सेवा प्रवाह सम्बन्धी कमजोरी, अस्पतालका समस्याहरुको समाधान तीन/चार दिनभित्र देखिने गरी सुधार हुने उनले आश्वासन दिए ।

कमेन्टहरु