लुम्बिनी प्रदेश

प्रहरीको अन्तरिक संगठन सुदृढीकरणका लागि सबै प्रहरीको खाता जाँच सुरुवात गरिएको छ: महानिरीक्षक कुँवर

नवलपुर टुडे
२०८१ भदौ १२ | मध्यान्ह ०२:०५ बजे

भैरहवा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको अन्तरिक संगठन सुदृढीकरणलाई प्राथमिकता दिने क्रममा सबै प्रहरीको खाता जाँच सुरु गरिएको बताएका छन् ।

संगठनको आन्तरिक सुदृढीकरणबिना नागरिकको भरोसा जित्न सम्भव नभएकाले प्रहरी जवानदेखि शीर्ष नेतृत्वको खाता जाँच थालिएको उनले बताए । ‘संगठन सुदृढीकरणअन्तर्गत जवानदेखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्मलाई छानबिन गरिरहेका छौं,’ बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक कुँवरले भने, ‘मुलुकभरका प्रहरी युनिटका सूचना महानिरीक्षकसम्म पुग्ने व्यवस्था गरिएको छ ।

धेरै सूचना मसित पनि छन् । त्यसैले केही हुँदैन भनेर संगठनको मर्मविपरीत काम नगर्न सचेत गर्छु ।’ प्रहरीको काम बोल्नेभन्दा व्यवहारमा गरेर देखाउने भएकाले व्यावसायिक निष्ठा कायम राख्ने कुरामा ध्यान दिन कुँवरले निर्देशन दिए । प्रहरीप्रति उठेका गुनासाको सम्बोधन गरिने उल्लेख गर्दै उनले स्थानीय तहसित सहकार्य गरेर काम गर्न मातहत निकायलाई निर्देशन दिए ।

‘रुपन्देहीको बेलहिया नाकामा एकीकृत जाँच चौकी स्थापना गरेर नमुना काम भएको छ,’ उनले भने, ‘अब प्रहरीले उक्त चौकीको उद्धेश्यअनुसार सेवा प्रदान गर्ने कुरामा ध्यान दिनुपर्छ ।’ भारतबाट भित्रिने पर्यटकलक्षित एकीकृत चौकी भएकाले गुनासोरहित तरिकाले काम गर्न निर्देशन दिए ।

‘रुपन्देहीको पर्यटकीय जिल्लाका साथै बेलहिया स्थलमार्गबाट पर्यटक भित्रिने प्रमुख नाका हो,’ सम्बोधनका क्रममा उनले भने, ‘यहाँ प्रस्तुत हाम्रो व्यवहार विश्वभरि पुग्ने भएकाले काम गर्दा ध्यान दिनुहोला ।’ प्रहरीले पीडितलाई न्याय दिने कुरामा ध्यानु दिनुपर्नेमा उनको जोड थियो । ‘पीडितलाई सधैँ पीडित तुल्याउनेतिर नलाग्नु होला,’उनले भने, ‘कतिपय अवस्थामा प्रहरीको छवि सुधार्न जरुरी छ, त्यसतर्फ ध्यान दिनुस् ।’

महानिरीक्षक कुँवरले बुधबार सिद्धार्थनगर–१२, मा नेपाल प्रहरीको नियमित बजेटअन्तर्गत १४ करोड ९६ लाख १४ हजार ५ रुपैयाँ लगानीमा निर्माण पूरा भएको कार्यालय भवनसहितका पूर्वाधारको उद्घाटन गरेका हुन् ।

कमेन्टहरु