मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
लिजाको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बाजुरामा बुढीगंगा पहिलो


बाजुरा, भदौ ०७। बाजुरामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा नगरपालिका उत्कृष्ट अंक ल्याउदै पहिलो भएको छ । यस अघि लिजाले २०८० को माघमा सार्वजनिक गरेको नतिजाको गुणस्तर परिक्षणको अन्तिम नतिजामा अन्य पालिका भन्दा उत्कष्ट अंकल ल्याउदै बुढीगंगा पहिलो भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को सार्वजनिक गरेको स्वमूल्याङ्कन नतिजा प्रदिवेदन अनुसार बुढीगंगा नगरपालिकाले ८४ दशमलव ५० ल्याउदै जिल्लामै पहिलो भएको लिजाको प्रतिबेदनमा उल्लेख गरिएको छ । ८० दशमलव २५ अंक ल्याउदै जगन्नाथ गाउँपालिका दोस्रो भएको छ । त्यसै गरी गौमुल गाउँपालिकाको ७१ दशमलव २५, स्वामिकार्तिक खापरको ७१, खप्तड छेडेदहको ६९ दशमलव ५०, बडिमालिका नगरपालिकाको ६६ दशमलव ७५ अंक रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै त्रिवेणी नगरपालिकाको ६२ दशमलव ७५, बुढीनन्दा नगरपालिकाको ४८ दशमलव ७५ र हिमाली गाउँपालिकाको ४६ दशमलव ५० अंक कायम गरिएको अन्तिम नतिजा प्रतिवेदनमा उल्लेख छ । यस अघि सार्वजनिक गरिएको लिजाको नतिजामा जिल्लामा जगन्नाथ गाउँपालिका पहिलो भएपनि त्यसै नतिजापछि गुणस्तर परिक्षणको अन्तिम नतिजामा बुढीगंगा पहिलो भएको जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताएका छन ।मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने उदेश्य सहित आर्थिक बर्ष २०७९।८० को नतिजा बिहिवार सार्वजनिक गरेको छ । त्यस्तै आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरेको जनाएको छ ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ । विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।
स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न इन्डिकेटर (सूचक) निर्धारण गरिएको सहसचिव खनालले जानकारी दिए । स्थानीय तहले गरेको स्वमूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको छ ।


















