दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु


प्रमोद सहानी
दाङ। कुवा सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
कुवा सरसफाइ गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुरमा रहेको नेपाली सेनाको वेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।
बेहोस अवस्थामा अस्पतालमा ल्याइएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
घट्ना करिव विहान नौ बजेतिरको भएको प्रहरीले जनाएको छ। दुबैजना बिना डोरी करिव १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेवित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुबै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।























