शाही आयोग पनि खारेज गरिदिएको होइन अदालतले ? हु इज केपी ओली ?’ : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।
ज्ञानेन्द्रकै शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन अदालतले ? उनले भने, ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’ उनले आफूले राजा चाहियो भनेर नभनेको बताएका छन् ।
केही दिन अघि सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले भनेका थिए, ‘अहिले राष्ट्रपति भन्ने संस्था त यति, यो भन्दा त राजाहरु हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन ।’
प्रचण्डको यो अभिव्यक्तिलाई ‘राजा चाहिएको’ भनिएको भन्दै आलोचना भएका थिए । विशेषगरी ओलीपक्षका नेताहरुले सामाजिक सञ्जालमा टिप्पणी गरेर भ्रम फैलाएका थिए ।























