धर्म–संस्कृति/रीतिथिति

कीर्तिपुरमा स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

रिदेन महर्जन
२०८१ भदौ २ | मध्यान्ह ०५:०५ बजे

काठमाडौ । कीर्तिपुरका आराध्यदेव बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ । मू्र्ति ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित कीर्तिपुरको बाघ भैरव मन्दिरमा स्थापना गरिएको हो ।

शुक्रबार ललितपुरमा भव्य रूपमा एक कार्यक्रमको आयोजना गरी बाघ भैरव स्वर्ण शक्ति भैरवको उक्त मूर्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मूर्ति बनाउन सहयोग गर्ने कालिगढ र तिनका परिवारका सदस्यलाई समेत सम्मान गरिएको थियो । सो ३ फिट अग्लो उक्त मूर्ति करिब २० जना कालिगढले एक वर्षसम्म मिहिनत गरेर बनाउन सफल भएको हो । 

कीर्तिपुरमा हरेक वर्ष भाद्र १ गतेका दिनमा बाघभैरवको जात्रा गर्ने गरिन्छ । यस वर्ष जात्राको अघिल्लो दिन बाघभैरव स्वर्ण शक्ति भैरवको मूर्ति मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

कीर्तिपुरको गुँदे दापा खलःका करीब २ सय ५० जनाको समूहले ललितपुरको लुँखुसिबाट बाजागाजासहित मूर्तिलाई खटमा बोकेर ललितपुरको विभिन्न स्थानमा परिक्रमा गराउँदै कीर्तिपुर पुगी बाघभैरव मन्दिरमा स्थापित गरेको हो । 

क्रोधकला शिरोमणि कालु कुमालेका स्वर्गीय छोरा वीरेन्द्रकुमार अवालेको स्मृतिमा ल्हामो ह्याण्डीक्राफ्टबाट सो मूर्ति निर्माण गरिएको हो ।  कीर्तिपुरमा बाघभैरवलाई रक्षक देवता तथा दुष्ट आत्माहरु र आपत विपत्तबाट जोगाउने भगवानको रुपमा पुज्दै आइरहेकाे छ ।

कमेन्टहरु