देश

बुटवलमा जुधिरहेका गोरुले किच्दा घाइते भएकी सीताको निधन

नवलपुर टुडे
२०८१ साउन २६ | मध्यान्ह ०१:०४ बजे

बुटवल । रूपन्देहीमा जुधिरहेका गोरुको बीचमा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए । चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए ।

सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए । बुटवललगायत आसपासका क्षेत्रमा सडकमा छाडा चौपायाले पैदलयात्री तथा सवारीसाधनमा हिँड्ने मानिसलाई समस्या दिँदै आइरहेका छन् ।

कमेन्टहरु