मधेश प्रदेश

गाउँपालिका नै रित्तो पारेर नरहाका अध्यक्ष सहित जम्बो टोली भारतमा, सेवा प्रभावित

रामएकवाल राम
२०८१ साउन २६ | बिहान ०६:०४ बजे

 सिरहा । सिरहाको नरहा गाउँपालिकाका पालिका अध्यक्ष सहित ४०-४५ जनाको जम्बो टोली नै भारत भ्रमणमा गएको छ । पालिका अध्यक्ष रामप्रमोद यादव सहितको जम्बो टोली गत १७ गते जनकपुरधाम हुँदै भारत भ्रमणमा निस्केको हो ।

भ्रमण टोलीमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ४०-४५ जनाबढी सहभागी छन् । टोलीमा पालिका अध्यक्ष यादवसँगै उपाध्यक्ष गुलाब देवि चौधरी ,प्रमुख प्रशासकीय अधिकृत हरि शंकर यादव,  नरहा गाउँपालिका-१ वडाध्यक्ष अशोक कुमार सिंह ,नरहा गाउँपालिका-२ का वडाध्यक्ष सम्झना सिंह सहभागी छन् ।

यसैगरी,  नरहा गाउँपालिका-४ का वडाध्यक्ष रामविलेक्षण यादव, नरहा गाउँरपालिका-५ का वडाध्यक्ष हुकुमदेव यादव,स्वास्थ शाखा प्रमुख नन्दकिशोर यादव,प्रशासन शाखा प्रमुख वैदनाथ साह,शिक्षा शाखा प्रमुख देव संकर यादव,पशु शाखाबाट योजना शाखाबाट कम्प्युटर अपरेटर स्थायी र करारका कर्मचारी गरि ४०-४५ जना भ्रमण टोलीमा छन।

भ्रमण टोलि गत श्रावण १७ गते जनकपुरधाम भ्रमण गरी त्यहाँबाट  भारतको अयोध्या, बाबा धाम, बासुकिनाथ लगायत  भारतको विभिन्न ठाउँ  घुम्न जाने कार्यक्रम छ । उनीहरु कहिले फर्किने भन्ने जानकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु योनजनलाई पनि छैन । शुक्रबार बिहान करिब ११ बजे पत्रकारको टोलि पालिकामा पुग्दा भ्रमण बाहेकका कर्मचारी टेलिभिजन हेरेर बसिरहेका थिए।विडम्बना त के छ भने पालिका अध्यक्ष कसैलाई कार्यवाहक अध्यक्ष नै न दिई भ्रमणमा गएको हो। नरहा गाउँपालिका-३ का वडा अध्यक्ष रुषतम अन्सारीलाई  कुनै लिखित रुपमा न दिई मौखिक रुपमा पालिका अध्यक्षको कार्यवाहक जिम्मेवारी दिएको शहकारी शाखा प्रमुख राज नारायण यादवले बताए।

कामकाज प्रभावित

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली नै भारत भ्रमणमा गएपछि गाउँपालिकाको कामकाज प्रभावित बनेको छ । जनप्रतिनिधि नभएपछि अधिकांश कामकाज प्रभावित बनेको र कर्मचारीले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिन सुरु गरेको सेवाग्रहीले गुनासो गरेका छन।

जनप्रतिनिधि नहुँदा धेरै कामकाज प्रभावित बनेको छ नै, कर्मचारीले सेवाग्रहीलाई अनेक बहानामा झुलाउन थालेका छन।बर्खा, डुबान र खेतीपातीको समयमा जनप्रतिनिधिहरु पालिका नै रित्तो पारी यसरी भ्रमणमा जानु आपत्तिजनक रहेको एक स्थानीयले बताउँछन् ।

कमेन्टहरु