कृष्णनगरको दशगजामा बृहत सरसफाई


कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु, शान्ति पुनर्स्थापना गृह, साना हात, आशिष सामाजिक सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगर, लगायत विभिन्न संघ संस्था र स्थानीयबासीको सक्रियतामा शुक्रवार सरसफाई गरिएको हो ।
सरसफाई सबैको साझा दायित्व हो भन्ने भावनाको बोध गराउन दशगजा क्षेत्रमा सरसफाईको अभियान थालिएको वडाध्यक्ष कृष्ण कुमार गुप्ताले बताए । सरसफाई अभियानमा बजारबासीले पनि साथ दिएका थिए ।
सामाजिक काममा नेपाल प्रहरीको पूर्ण साथ रहने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले बताए । सरसफाई अन्य सामाजिक तथा सांस्कृतिक लगायत विभिन्न कार्यमा सशस्त्र प्रहरी बलको सधै अगाडि रहने सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले बताउनुभयो।
यस्तै सरसफाई अभियानमा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, चालिस जना प्रहरी जवान र चालिस जना सशस्त्र प्रहरी, भारतीय एसएसबीका जवान बजारबासीको पनि साथ रहेको थियो । सरसफाई अभियान्ताहरुले दशगजा क्षेत्रमा रहेका प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहर बस्तुलाई जम्मा गरी नष्ट गरेका थिए ।























