देश

राउटे समुदाय सुर्खेतबाट सल्यानमा बसाइ सरे

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह ०३:०३ बजे

असिम कामु मगर

सुर्खेत । सुर्खेतको भेरी नदी किनारमा बस्दै आएका राउटेहरू असार ७ गते सल्यानको कालीमाटीमा बसाइ सरेका छन्। उनीहरू करिब १४३ को संख्यामा रहेका छन्।

कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले गाउँपालिका अन्तरगत वडा नं. ५ को काल्चे डाँडामा राउटेहरू आएर आफैं छाप्रा निर्माण गरी बस्ने थालेको बताए।

राउटे बस्तीमा खानेपानीको व्यवस्थापनमा सहायताका लागि चार सय मिटर
पाइप गाउँपालिकाले प्रदान गरेको अध्यक्ष केसीले जानकारी दिए।

राउटे समुदायले सुर्खेतबाटै आफ्ना लागि आवश्यक खाद्यान्न बोकेर आएको हुँदा अहिलेकै अवस्थामा खाद्यान्नको समस्या नदेखिएको केसीले बताए।

राउटे समुदायको सुरक्षाको लागि त्यहाँ प्रहरी पनि खटिएको छ। राउटे बस्तीको नजिकै प्रहरीको लागि बस्ने ठाउँको व्यवस्थापन पनि गाउँपालिकाले गर्न लागेको केसीले जानकारी दिए।

अध्यक्ष केसीले आजभन्दा १० वर्ष पहिला पनि राउटे समुदाय कालीमाटीमा आएर बसेको थियो। १० वर्षपछि फेरि घुम्दै उनीहरू आफू पहिले बसेको ठाउँमा आइपुगेछि गाउँपालिकाबासी खुसी भएको केसीले बताए।

राउटे समुदायले वन जंगलमा घुम्ने तथा घुमन्ते जीवन बिताउँदै आएको छ। दैलेख जिल्लाबाट आएको टोलीले राउटे समुदाय सल्यानमा बसाइ सरेपछि कालीमाटीमै आएर भत्ता वितरण गरिएको छ।

संघीय सरकारबाट प्रदान गरिने ३ हजार र कर्णाली प्रदेश सरकारको तर्फबाट प्रदान गरिने २ हजार गरी राउटे समुदायका प्रत्येक व्यक्तिलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउँदै आइएको छ।

गाउँपालिकाको उपाध्यक्ष सनशिलता वलीले आफूले स्थायी बसोबासका लागि घरको व्यवस्थापन गरिदिने बताउँदा पनि राउटे मुखियाले त्यो अस्वीकार गरेको बताइन्।

‘राउटे मुखिया सूर्यनारायणलाई स्थायी बसोबासको व्यवस्थापन गाउँपालिकाले घर बनाइदिन्छौं बस्नु हुन्छ भनेर सोध्दा उहाँहरूले त्यो अस्वीकार गर्नुभयो र हामी बढीमा ६ महिनादेखि वर्षदिनसम्म बस्छौं भन्नुभयो।’

कमेन्टहरु