पाल्पा रम्भा गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम ४६ करोड सार्बजनिक


असिम कामु मगर
पाल्पा । जिल्लाको रम्भा गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिदै आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेरोजगारी अवस्थामा रहेका युवाहरुलाई कृषि तथा पशुपालनमा आर्कषित गर्दै आत्मनिर्भर र स्वावलम्बि बनाउने योजना रहेको छ ।
त्यसैगरी व्यवसायिक किसानलाई ऋण तथा अनुदानको व्यवस्था, संस्थागत सुत्केरीलाई प्रोत्साहन, कोभिड नियन्त्रणलाई प्रभावकारी व्यवस्थापन तथा तयारी, प्राविधिक शिक्षाको विस्तार, सूचना प्रविधि र इन्टरनेटको पहुँच विस्तार, कम्प्यूटर शिक्षा, अंग्रेजी शिक्षालाई संचालन गर्ने नीति लिइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
खानेपानी तथा सरसफाईको क्षेत्रमा एक घर एक धाराको नीतिलाई अवलम्बन गर्दै स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाईको क्षेत्रमा काम गर्ने, उत्पादकत्व बढाउँन सिंचाईको व्यवस्था, काठका पोलहरुको विस्थापन गरी फालमको पोल राख्ने, पूर्वाधार विकासमा भवन निर्माणहरु लगायतको कामहरु गर्ने योजना बनाएको छ ।
सडक संजाल बाँकी रहेको स्थानमा सडकको पहुँच वृद्धि भएका सडकको स्तरोन्नती गर्ने, सहकारीको माध्यमबाट रोजगारी र कृषि विकास, पर्यटन प्रर्वद्धनको लागि गुरुयोजना निर्माण पर्यटकीय क्षेत्रको पहिचान गर्ने नीति रहेको छ ।
लक्षित वर्गको विकासमा विशेष कार्यक्रम, जेष्ठ नागरिकहरुलाई सम्मान, उद्योग तथा व्यवसायको विकास र विस्तार लगायतका नीति अनुसारको कार्यक्रम गर्नको लागि बजेट समेत गाउँ सभामा प्रस्तुत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले समग्र नीति तथा कार्यक्रमलाई सफल बनाउनको लागि ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गर्नुभयो । उहाँले कोरोना महामारीको विचमा पनि गाउँपालिकाले यस वर्ष बजेट कार्यान्वयन प्रतिशत राम्रै रहेकोले आगामि वर्षमा समेत बाँकी रहेका कामहरु सम्पन्न गर्ने र नीति कार्यक्रमलाई सफल बनाउने गरी बजेट ल्याइएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल , कार्यपालिकाका सदस्य, जनप्रतिनिधि, पत्रकार, स्थानीय विषयगत समितिका सदस्यहरुको उपस्थिति रहेको गाउँपालिकाका प्रमुख सल्लाहकार विजयरानाभाटले जानकारी दिनुभयो ।























