अपराध, कोशी प्रदेश

कोशी प्रदेश: सुनसरीमा नाबालिका अपहरण गर्ने तीन जना पक्राउ

नवलपुर टुडे
२०८१ साउन १७ | मध्यान्ह ०५:०४ बजे

सुनसरी । प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरुमा ती बालिकालाई सञ्जयले मंगलबार जबर्जस्ती उठाएर लगेको प्रहरीको दाबी छ । लगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । बालिकाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ/सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले बुधबार उद्धार गरेको हो ।

बालिकालाई विराटनगर १० स्थित कलानन्द र सरिताको डेरामा बन्धक बनाइराखेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

कमेन्टहरु