राप्ती नगरपालिकामा २० वर्षको उमेरसम्म अध्ययन गर्ने चेपाङ छात्रालाई १५ हजार दिइने व्यवस्था


असिम कामु मगर
चितवन । चितवनको राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षको उमेरसम्म अध्ययन गर्नेलाई १५ हजार रूपैयाँ नगद दिने व्यवस्था गरेको छ।
नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो। यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ। जम्मा १९/२० वर्षमा नै तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको भन्दै बालविवाह रोक्न कार्यक्रम ल्याइएको नगरप्रमुख प्रभा बरालले बताइन्।
उनले भनिन्, ‘यहाँ बच्चाले बच्चा पाउँछन्, यसलाई रोक्न हामीले यो कार्यक्रम ल्याएका हौं।’ यसैगरी रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले एक करोड रूपैयाँ विनियोजनका साथै स्वास्थ्य स्वयंसेविकालाई साइकल कार्यक्रम तथा विपन्नहरूका लागि बास कार्यक्रमअन्तर्गत एक करोड रूपैयाँ विनियोजन गरिएको छ।
साझेदारी कार्यक्रमका लागि तीन करोड रूपैयाँ र अधुरा कार्यक्रम सम्पन्न गर्न एक करोड रूपैयाँ विनियोजन गरेको छ। दूधमा अनुदान दिन रु ५० लाख छुट्याइएको छ भने क्यान्सर र मिर्गौलाको डाइलासिसका लागि रु १० लाख छुट्याइएको छ।
पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि रु ३५ लाख तथा चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि रु १० लाख बजेट छुट्याइएको उनले जानकारी दिइन्।
कोभिड र विपत् व्यवस्थानका लागि रु एक करोड विनियोजन गरिएको छ। असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिँंदै छ। नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि रु एक करोड बजेट विनियोजन गरेको छ।
नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी बिदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवी शिक्षिका कार्यक्रम, कक्षा नौदेखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्नेछ।
यस्तै, पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु दुई हजार प्रोत्साहन भत्ता, लैङ्गिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यावसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ।
महिला प्रमुख भएकाले पनि कार्यक्रम महिला, बालबालिका, पिछडिएको वर्गको हितमा बढी केन्द्रित भएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ९२ करोड ९७ लाख ३६ हजार ४२९ को बजेट ल्याएको छ।






















