बरिस्ठ पत्रकार र सम्पादकहरुसँग विपक्षी गठबन्धनले अन्तर्क्रिया गर्दै

जगत ठाडा मगर
२०७८ असार १० | मध्यान्ह १२:०३ बजे

असिम कामु मगर
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।

विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । खाणका अनुसार ‘उनीहरुको सल्लाह अनुसार पाँच दलीय गठबन्धनले आगामी कार्यक्रमहरु तय गर्नेछ ‘।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सरकारमाथि दवाव बढाउने रणनीति लिएका छन् ।

सोही रणनीति अनुसार जनपरिचालनका कार्यक्रम गर्ने निर्णयसमेत उनीहरुले गरेका छन् । त्यसअन्तर्गत विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा संयुक्त विरोध कार्यक्रम गर्दैछन् ।

कमेन्टहरु