धर्म–संस्कृति/रीतिथिति, समाज

लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा

पत्रपत्रिकाबाट
२०८१ साउन १३ | मध्यान्ह ०५:०४ बजे
झापा जिल्लाको मेचीनगर नगरपालिकास्थित अनु कार्कीको घरमा कृष्णसारको सिङबाट बनेको फेरी बजाउँदै गोपालकुमार जोगी । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

अक्टोबर र नोभेम्बर महिनाको ठण्डीमा निद्राको माया मारेर यसरी रातिराति हिँड्नु सजिलो छैन । तर उनलाई यसले भन्दा बढी आफ्नै भाइले चार वर्षअघि फर्काएको कठोर वचनले धेरै पोल्ने गर्छ ।

उनी सन् २०२० को नोभेम्बर महिनाको चिसो रातमा फेरी लगाएर सिदा सङ्कलन गरेर घर फर्कदै थिएँ । त्यही बेला उनका भाइ बाइकमा हुँइकिएर आइपुगे र उनले बोलाउँदा रिसाउँदै भने, “को हो मलाई भाइ भन्ने? मलाई भाइ भन्ने को जोगी हो?

‘मेरो कोही दाजु छैन । म तँलाई चिन्दिनँ ।’ त्यस दिन भाइको आवाजमा प्रकट भएको आफूप्रतिको क्रोध र घृणाका कारण उनले त्यसपछि फेरि कहिल्यै भाइसँग बोल्ने आँट गरेका छैनन् । आफ्नो मनको बह पोख्दै गणेश भन्छन्, ‘एउटै आमाको कोखबाट जन्मिएको आफ्नै भाइले त नचिनेपछि हामीलाई कसले चिन्छ?’ 

यो पनि पढ्नुहोस्

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

गणेशका छोराले पनि उनलाई आफ्नो परम्परागत पेशा त्याग्न अनुरोध गर्दै आएका छन् । तर गणेशले सानैदेखि लगाउँदै आएको फेरी लगाउन छाडेका छैनन् । ग्रीष्म ऋतु र वसन्त ऋतुको बाली लगाउने सिजनमा राति घरघरमा मन्त्र जप्दै र सिङ बजाउँदै हिँड्ने परम्परालाई फेरी लगाउने भनिन्छ । उनले यसरी फेरी लगाउँदै हिँड्नु आफ्नो दायित्व मानेका छन् ।

1722161467 GPJNews Nepal%205
झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा सिदा संकलन गर्दै जोगीहरु । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

नेपालको पूर्वी क्षेत्रमा फेरी लगाउने चलन इशा पूर्व आठौँ शताब्दीदेखि नै चलेको हो । यो परम्परालाई मुख्य गरी नेपालको कोशी प्रदेशमा बसोबास गर्ने अल्पसङ्ख्यक फ्री जातिका जोगी समुदायले धान्दै आएका छन् । फेरी लगाएमा भूतप्रेत र दुष्ट आत्मा टाढा रहने, प्रशस्त अन्नबाली फल्ने र वर्षभरि नै खुसी र समृद्धिले बास बस्ने धार्मिक तथा सांस्कृतिक विश्वास रहँदै आएको छ । 

यो पनि पढ्नुहोस्

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु

तर जोगी समुदायको प्रमुख दायित्वका रूपमा मानिँदै आएको यो काम अहिले भने लोप हुने क्रममा छ । फेरी लगाएर दान सङ्कलन गर्दै हिँड्ने भएकाले अरू समुदायले जोगीहरूलाई भिखारी ठानेर घृणाको दृष्टिले हेर्ने गरेको पुराना पुस्ताका जोगीहरू बताउँछन् । तर जोगी समुदायका नयाँ पुस्तालाई भने आफ्नो परम्परा सिक्न वा त्यसलाई जोगाएर राख्न कुनै चासो छैन । गणेश भन्छन्, ‘यसरी घरघरको सुरक्षा गर्दै हिँड्दा आफन्तबाट तिरस्कृत पनि हुनु पर्ने रहेछ ।’

जोगी समुदायको संक्षिप्त परिचय

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०२१ को राष्ट्रिय जनगणनाको जातजातिसम्बन्धी विवरणमा पहिलो पटक “फ्री” जाति पनि समेटेको छ । नेपालमा फ्री जातिको जनसङ्ख्या ९२१ मात्र रहेको छ । यसअघि दशनामी सन्यासी समुदायमा गणना गरिँदै आएका जोगीहरूलाई अहिले फ्री जातिअन्तर्गत गणना गरिन्छ । जोगी समुदायको परम्परागत र मौलिक संस्कृति “फेरी” सँग जोडिएर नै “फ्री” जाती नामाङ्कित भएको हुन सक्ने संस्कृतिविद जगमान गुरुङ बताउँछन् । घरको सुरक्षाका लागि जोगीहरूले घरको चारै कुनामा गएर कृष्णसारको सिङ बजाउने मौलिक परम्परा थियो । फेरी लगाउने परम्परा खास गरी पूर्वी नेपालमा विद्यमान छ र चैत्र र कार्तिक महिनामा मध्यरातदेखि बिहान ३ बजेसम्म फेरी लगाउने गरिन्छ ।

नेपालको पूर्वी जिल्ला झापाको मेचीनगर नगरपालिकामा हाल ५० जोगी परिवारहरू बसोबास गर्छन् । तर अहिले तीमध्ये पाँच परिवारले मात्र फेरी लगाउँछन् ।

1722161468 GPJNews Nepal
झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा नरमाया खड्काको घरमा सिदा लिँदै ओमनाथ जोगी (बिचमा) । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

‘फेरी’ भनेको कृष्णसारको सिङलाई जोगीहरूले दिएको नाम हो । १० रुपैयाँको नेपाली नोटमा समेत फोटो राखिएको कृष्णसार नेपालको लोपोन्मुख र संरक्षित जनावर हो । यो जनावर नदी किनारका घाँसले भरिएका खुला क्षेत्रमा बसोबास गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा ३६ ले संरक्षित वन्यजन्तुलाई आफूसँग राख्न, बिक्री गर्न र ओसारपसार गर्न प्रतिबन्ध लगाएको छ । यो कानुनले गर्दा कृष्णसारको सिङ पाउन एकदमै कठिन छ । जोगी समुदायमा हजुरबुवा र बुवाले आफ्ना छोरालाई कृष्णसारको सिङ हस्तान्तरण गर्ने परम्परा नै रहेको छ ।

ब्रह्माण्डको सन्तुलन कायम गर्ने भूमिका

जोगीहरू आफूले फेरी फुक्दा र मन्त्र जप्दा आफूमा आफ्नो पुर्खाहरूको शक्ति आउने विश्वास गर्छन् । उनीहरू प्रकृतिलाई मानव जातिको संरक्षकका रूपमा लिन्छन् र प्रकृतिको पुजा गर्छन् ।

उनीहरू राति घरघरमा गएर फेरी लगाउँछन् र भोलिपल्ट बिहानै आफूले फेरी लगाएको मानिसहरूको घरमा जान्छन् । घरका मानिसहरूले उनीहरूलाई टिका लगाइदिन्छन् र दक्षिणा र सिदा पनि दिन्छन् । जोगीलाई धान, चामल, नुन, तेल, बेसार र कालो कपडा दान गर्नाले ग्रहदशा राम्रो हुने र घरमा हर्ष, शान्ति र समृद्धिले बास बस्ने आम जनमानसमा विश्वास रहेको छ । 

यसरी फेरी लगाउँदै जोगी आए घरमा कुनै किसिमको भूतप्रेत नलाग्ने, सबै ग्रहदशा काटिने र एक पटक बजाएपछि छ महिनासम्मा ढुक्क हुने विर्तामोडकी तुलासा कार्कीको विश्वास छ ।

त्यस्तै, अर्जुनधारा नगरपालिकाकी भगवती खड्काले आफूहरूले आफ्नो गाउँका जोगीलाई पहिले आफ्नै गाउँमा फेरी लगाएर मात्र अन्य गाउँमा जान अनुरोध गरेको बताउँछिन् । ‘पहिले आफ्नो गाउँको सुरक्षा गर्नु पर्यो नि!’ उनको तर्क छ । 

यो पनि पढ्नुहोस्

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

आफ्नो गाउँमा फेरी लगाएर बिहान सिदा लिन आउँदा छिमेकी र गाउँलेहरूले चिन्ने भएकाले र यसो गर्दा लाज हुने भएकाले पहिले पहिले जोगीहरूले आफ्नो गाउँमा फेरी लगाउँदैनथे ।

रात्रिकालीन जीवन

मेचीनगरका ५८ वर्षीय शेर बहादुर जोगीले १४ वर्षको उमेरदेखि नै फेरी लगाउन थालेका थिए । फेरी लगाउँदै देशका विभिन्न ठाउँमा यात्रा गरेका उनी फेरी लगाउन भनेर भारतको दार्जलिङ र सिक्किमसम्म पनि पुगेका छन् । २२ वर्ष फेरी लगाएर बिताएका उनले यो काम छाडेको पनि अहिले २२ वर्ष भइसकेको छ ।

1722161467 GPJNews Nepal%204
झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा फेरी बजाउँदै ओमनाथ जोगी । तस्बिर : मायामितु न्याैपाने, जिपिजे नेपाल

अहिले उनी सुपारी उद्योगमा काम गर्छन् । पुराना दिन सम्झदै उनी भन्छन्, ‘केटाकेटी मान्छे, राति सुतेपछि उठ्नै मन लाग्दैनथ्यो । बुवाले गाली गर्दै उठाउनुहुन्थ्यो । मन नलागी नलागी गयो । बिहान पनि कस्तो भोक लागेको हुन्थ्यो । तर दान नउठाएसम्म खान हुँदैन थियो । भोकले बोल्नै नसक्ने हुन्थेँ ।’

त्यति बेला अहिलेको जस्तो राम्रो बाटो थिएन र उनी अँध्यारोमा छामछुम गरेर हिँड्दा धेरै पटक बाटोमा चिप्लिने गर्थे र चोट पनि लागिरहन्थ्यो । शीतले खाएर खुट्टा कक्रक्क हुन्थ्यो । विगतलाई सम्झदै उनी भन्छन्, ‘त्यस्तो हुँदा पनि तँ आराम गर् भन्दैनथे । हिँड्नै पर्थ्यो ।’

त्यस बेला बिहे ब्रतबन्ध जस्ता कार्यक्रमहरू राति हुने गर्थे र मानिसहरू रातभर जाग्राम बस्ने चलन थियो । उनलाई त्यस्ता कार्यक्रममा आएका केटीहरूसँग जम्काभेट हुँदा साह्रै लाज लाग्थ्यो । फेरी लगाउँदा लगाउँदा उनको ओठ र गाला फुल्थ्यो र २२ वर्षे उमेरका उनलाई केटीहरूले त्यस्तो अवस्थामा देख्दा झन् धेरै लाज लागेर आउँथ्यो । त्यसैले उनी फेरी बजाइसकेपछि कसैको अनुहारमा नहेरी कुलेलम ठोक्थे । 

यो पनि पढ्नुहोस्

जसले आँखा खोस्यो उसैको संरक्षणमा तल्लिन भदै थारू

फेरी लगाएर बिहान सिदा सङ्कलन गर्दा छुट्टाछुट्टै थैलो भएको झोला र अनिवार्य लौरो बोक्नु पर्ने भएकाले बाटोमा माग्न हिँडेको भिखारी जस्तै देखिने भएकाले युवापुस्ता यसतर्फ आर्कषित नभएको २९ वर्षीय राजेश कुमार जोगी बताउँछन् । उनलाई आफ्नो परम्परा जोगाउनु पर्छ भन्ने लागेको छ । त्यसैले उनी अहिले बुवासँग फेरी बजाउन सिक्दै छन् तर उनलाई यो काम गर्न पटक्कै मन छैन । उनी कहिलेकाहीँ फेरी लगाउन टाढाका गाउँमा जाने गर्छन् । तर उनी अरूको अगाडि म फेरी लगाउँदै हिँड्छु भनेर खुलेर भन्न सक्दैनन् । उनी पहिले स्कुल पढ्दा शिक्षकले यो जाबो जोगी त हो नि भनेर होच्याउने गरेकाले उनलाई आफू जोगी भएको कुरा स्वीकार गर्न दिगमिग लाग्छ । अहिले पनि उनलाई कतिपय मानिसले यो उमेरमा काम गरेर खान अल्छी भएर किन माग्दै हिँडेको भन्दै गाली गर्छन् ।

जोगीहरूको काम रातिका समयमा हुने भएकाले उनीहरूको कला र संस्कृतिलाई अन्य समुदायको जस्तो गरी प्रदर्शन गर्न कठिन हुने संस्कृतिविद गुरुङ बताउँछन् । आफूसँग विशेष मन्त्र हुने भएकाले आफूलाई कसैले केही गर्न नसक्ने जोगीहरूको विश्वास छ । तर चोर-डाँका र जाँडरक्सी खाएर रातिराति हिँड्नेहरूले भने उनीहरूलाई रातिराति कहाँ हिडिस् भन्दै धम्क्याउने भएकाले राति हिँड्न त्यति सुरक्षित छैन ।

1722161465 GPJNews Nepal%201
झापा जिल्लाको अर्जुनधारा नगरपालिका नजिकैको खुदुनबारी गाउँमा कयौँ जोगीहरूलाई सिदा दिँदै गरेको दृश्य ।

केही मानिसहरू भने जोगीको कामलाई अन्धविश्वास मात्र ठान्छन् । बिर्तामोडका सन्जु थापालाई जोगीले घर वा समुदाय सुरक्षित राख्छन् भन्ने रत्तिभर विश्वास लाग्दैन । उनी भन्छन्, ” जोगीले राति राति फेरि लगाउँदा भूतप्रेत भाग्छ, घरको सुरक्षा हुन्छ भन्छन् । तर मलाई भूतप्रेत हुन्छ भन्नेमा नै विश्वास लाग्दैन” । उनी विगतमा फेरीको आवाजले गर्दा गाउँमा चोर आएका भए भाग्न सक्ने र चोरी हुनबाट चाहिँ जोगिन सक्ने स्वीकार गर्छन् । तर अहिले खास गरी सहरी क्षेत्रमा घरहरू जोडेर बनाइने भएकाले राम्रोसँग फेरी लगाउन पनि मिल्दैन ।

अर्जुनधारा नगरपालिकाका ६२ वर्षीय ओमनाथ जोगीलाई पनि सुरुसुरुमा फेरी लगाउँदा राति नै बजाउँदा बजाउँदै छाडेर अन्तै कतै हिँडौं जस्तो लाग्थ्यो । तर यसको महत्त्व बुझेपछि अहिले उनलाई आफूले महत्त्वपूर्ण काम गरिएहको छु भन्ने विश्वास छ । 

यो पनि पढ्नुहोस्

‘नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि समुदाय एक क्लिक टाढा छ’

ओमनाथ जोगी अहिले फेरी लगाउँदै आफ्नो गाउँ नजिकैको खुदुनाबारी गाउँमा आइपुगेका छन् । चुक पोखिएझैँ गाउँ चकमन्न अँध्यारोले ढाकेको छ । उनी धर्तीमा कुनै सङ्कट नआओस भनेर आकाश र पाताल दुवैलाई आफ्नो वशमा राख्नका लागि ‘आकाशै बाँधू, पातालै बाँधू’ मन्त्र जपिरहेका छन् ।

एकलास सडकमा फेरी बोकेको उनको एक्लो आकृति मात्र सलबलाइरहेको छ । सबै घर सुनसान छन् । उनको फेरीबाट एउटा चर्को ध्वनि गुञ्जन्छ । अचानक एउटा कुकुर भुक्छ र त्यसलाई पछ्याउँदै अरू कुकुर पनि बेस्मारी भुक्न थाल्छन् । कुकुर भुकेको आवाज सुनेर केही घरका मानिसहरूले बत्ती बाल्छन् । ओमनाथ भन्छन्, ‘कुकुरले घर धनीलाई जोगी आयो, उठेर घरको ढोका खोलिदेऊ भनेर सङ्केत दिएको होला ।’

(मायामितु न्यौपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्। यो स्टोरी सुरुमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशन गरिएको थियो।) 

यो समाचार नागरिक न्युजमा छ ।

कमेन्टहरु