कालिकामाईको अनियमितता ढाकछोप गर्न दलाल परिचालन


रंजित चौरासिय
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको समाचार विभिन्न सञ्चार माध्यममा आए पछि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुमा खैलाबैला मच्चेको छ । गाउँपालिकामा भए गरेका अनियमित्ता ढाकछोप गर्न गाउँपालिकाका एक वडा अध्यक्षले केही पत्रकारहरुलाई झुक्याई, प्रभावमा पारी आफ्नो पक्षमा समाचार लेख्न लगाएपछि गाउँपालिकाका सचेत वर्गहरु आश्चर्यमा परेका छन् ।
गाउँपालिकामा भईरहेको भ्रष्टाचारको बारेमा स्थानियवासीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएका छन् । गाउँपालिका विरुद्ध कसैले आवाज उठाए वा समाचार लेखे विभिन्न माध्यमहरुबाट दलाल परिचालन गरी धम्की दिन लगाई रहेको एक स्थानिय पिडितले बताए ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको स्थानियको गुनासो बढेपछि कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेर आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि जानकारी लिन कार्यालयमा भेटिएका कर्मचारीहरुले बताउँन मानेन् । गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिकाको वेभसाइटमा पनि राखिएको छैन् ।
गाउँपालिकाका सूचना अधिकारी अमित चौरसियासंग सूचना माँग गर्दा आफूलाई जानकारी नभएको बताए । उनले भने, सम्पूर्ण योजना बारे जानकारी हाकिम साहेब संग मात्र छ, उहाँ आएपछि आफै जानकारी गराउँनु हुन्छ ।
कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ राखेर अगाडीको मितिमा दर्ता चलानी गरेको पाइयो ।
प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग बुझन खोज्दा उनको कार्यालयमा ताल्चा लगाईएको थियो । फोन मार्फत पटक पटक सम्पर्क गर्दा फोन उठेन ।
यसै सम्बन्धमा विभिन्न स्थानिय तथा राष्ट्रिय संचारमाध्यमा समाचार प्रकाशनमा आएपछि त्यसको ढाकछोप गर्न दलाल परिचालन गरिइएको हो । सो दलालले गाउँपालिकाको अनियमितता र भ्रष्टाचार ढाकछोप गर्न विभिन्न किसिमको प्रपन्च गरिरहेका छन् ।
आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा संचालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको वताइए पनि ठेक्दारले काम गराईरहेको पाइयो । कागजी पक्रिया मिलाउन मात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ ।
गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाको लागि खरिद भएको जग्गाको बाउन्डरी वाल निर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समिति मार्फत संचालनमा छन् । तर कालिकामाई मन्दिरको भवन निर्माण र गाउँपालिकाको जग्गाको बाउन्डीवाल ठेक्दारले काम गराइरहेको प्रत्येक्षदर्शशीहरुले वताएका छन् । जुन नियमले मिल्दैन् ।
उपभोक्ता समितिका पदाधिकारीको बारे जानकारी लिन खोज्दा जनप्रतिनिधि र कर्मचारी कसैले बताउन चाहेनन् ।
खोला सफाईमा ४० लाख खर्च
चालु आर्थिक बर्षमा खोला सफाईमा ४० लाख खर्च भएको छ । गाउँपालिका अन्तर्गको गंगोल र बही खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाका सब इन्जिनियर मिथिलेश यादवले वताए ।
सो खोला सरसफाई पनि उपभोक्ता समिति मार्फत नै भएको उनले वताए पनि उपभोक्ता समितिको अध्यक्षको नाम समेत वताउन सकेन । उनले खोला सरसफाईको इस्टिमेट पनि देखाउन मानेन् । खोला सफाईमा १५ देखी २० लाख सम्म मात्र खर्च भएको स्थानियहरुको भनाई छ । अन्य योजनामा समेत अनियमितता गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएको छ ।
ग्यास सिलिन्ड खरिदको बारेमा पनि बुझ्न खोज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरु कोई बताउन मानेन् । ४५ सय देखी ५ हजार सम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा गरेर ठुलो रकमको चलखेल भएको गाउँपालिका स्रोतले जनाएको छ ।
यस्तै, आर्थिक बर्ष २०७७÷०७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममा एक÷एक लाख रकम भागवंडा लगाएका थिए ।
गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता
गाउँपालिकाको चालुगत खर्चमा पनि अनियमितता भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कार्यालयमा भएको दिनको पनि टियडिय बुझेको गाउँपालिका स्रोतले जनाएको छ । उनले चेकमा हस्ताक्षर गरेको दिनको पनि टियडिय बुझेको तथ्यले सो कुरा प्रमाणित गर्ने स्रोतको भनाई छ । यस्तै, गाउँपालिकाको जनप्रतिनिधिले वीरगंज मै बसेर नक्कली बिल भर्पाई बनाएर टिएडिय बुझेका छन् । यसका साथै काठमाडौे र पोखरा गएर मौजमस्ती गरेको खर्च पनि नक्कली बिल बनाएर रकम निकासा भएको स्रोतले जनाएको छ ।
अख्तियारको ध्यान पुग्न सकेन
गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुको गुनासो छ ।
गाउँपालिकामा भइरहेको अनियमितता र भ्रष्टाचारको सम्बन्धमा अख्तियारमा मुद्दा परेपनि छानविन नभएको स्थानिय उपेन्द्र तिवारीले गुनासो गरे ।उनले भने “यहाँ नदी सफाईको नाममा ४० लाख खर्च भएको छ तर सडकको अवस्था दैनिय रहेको छ । थोरै पानी परे पनि सडक हिलो मै हुने गरेको छ । बढी कमिशन पाउने ठाउँमा मात्र गाउँपालिकाले काम गरिहरको छ ।”
स्थानिय सरकार बनेको साढे तिन बर्ष भए पनि अहिले सम्म सडक निर्माण नहुँदा स्थानिय बर्षायाममा समस्या भोग्दै आएको उनले वताए । मुख्य सडकमा हिलोयाम, घुडाभन्दा माथि पानी जमेका कारण आवतजावत गर्ने समस्या भईरहँदा पनि जनप्रतिनिधि मुख हेराउँन आउँदैन ।
अर्का स्थानिय मन्टु कुमार रौनियारले हिलोयाम सडकका कारण गाउँमा एम्बुलेन्स, बिहेवारीमा जयन्ती समेत आउँन नसकेको वताए । सिकित्स विरामीलाई तीन चार जना मिलेर एम्बुलेन्स भएको ठाउँमा पु¥याउँनु पर्ने बाध्यता रहेको उनको भनाई थियो । बारम्बार जनप्रतिनिधिलाई गुहार लगाउँदा समेत अहिले सम्म कुनै सुनवाई नभएको स्थानिय जोगिन्द्र गिरीले वताए । गिरीले घर घरमा सिंहदरबार पुगेको भनिएपनि अहिले सम्म कालिकामाई गाउँपालिका जनताले सिंहदरबारको अनुभुति भने पाउँन नसकेको वताए ।जनताको समस्या समाधान गर्नुभन्दा विकास निर्माणको नाममा आफना कार्यकर्तालाई भरणपोषण गर्ने काम मात्र भईरहेको उनले गुनासो गरे ।






















